रुकुम पश्चिम,२ साउन ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकै भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
जिल्लाकाे त्रिवेणी गाउँपालिका वडा नं २ को बादँरपानीबाट रुघाहुँदै खलङ्गा जाँदै गरेको लु१ज ४११२ नम्बरको जीप आज बिहान सिम्रुतु बजार नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
घाइते हुनेमा जीप चालक त्रिवेणी–२ सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी–१ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी–२ की २८ वर्षीया सुनिता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका–१३ की ४० वर्षीया सपना परियार र मुसिकोट–५ का शिवकुमारी शर्मा रहेका छन् । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सल्ले पठाएको प्रहरीचौकी सिम्रुतुले जनाएको छ ।
जीप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जीप चालकसहित १० जना यात्रु रहेका थिए । घाइतेको अवस्था मध्यम र केहीकाे अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेहरूको हातखुट्टा र टाउकामा चोट लागेको प्रहरीको भनाइ छ ।








