बुटवल,१८ असार ।
लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेकाे प्रदेशसभाको छैठौं अधिवेशनको सत्रौं बैठकले बजेट पारित गरेको हो ।
आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।
मन्त्री कार्कीले प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गर्न सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रदेशसभाको ध्वनि मतमा हुन्छ भन्नेको बहुमत पुगेपछि सभामुख घर्तीले आगामी आवको बजेट बहुमतले पारित भएको घोषणा गरे । बजेटको विपक्षमा प्रमुख प्रतिपक्ष दल माओवादीका ११ जना प्रदेशसभा सदस्यले हुन्न भन्ने मत दिएका थिए । जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा र नेकपा एसका प्रदेशसभा सदस्य भने मौन बसेका थिए ।
गत असार १ गते मन्त्री कार्कीले आगामी आवका लागि ३८ अर्ब ९१ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए । बजेटमा पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार र चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार विनियोजन गरेको छ । त्यस्तै स्थानीय तहलाई दिने वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रकम विनियोजन गरेको छ । आन्तरिक राजस्व ७ अर्ब ७८ करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने र चालु आवको बचत २ अर्ब परिचालन गर्ने बजेटको लक्ष्य थियो ।
बजेटमा मुख्यमन्त्री, आर्थिक मामिलामन्त्री र प्रदेशसभा सदस्यकै महत्वपूर्ण योजनाहरु छुटेको भन्दै असन्तुष्टि बढेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्य, कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र आर्थिक मामिलामन्त्रीले छुटेका योजनालाई प्रदेशसभा बैठकबाटै पारित गरेर बजेटको व्यवस्थापन गर्ने सहमति गरेपछि मंगलबारदेखि बजेटमाथिको छलफल सुरु भएको थियो । मंगलबार र बुधबार गरी चार वटा बैठक बसेर बजेटमाथि छलफल गरेपछि बुधबार बजेट बहुमतले पारित गरिएको हो ।
मध्याह्न १२ बजेबाट सुरु भएको बैठकमा २६ जना प्रदेशसभा सदस्यहरुले बजेटमाथिको छलफलमा भाग लिएका थिए । प्रतिपक्षले बजेटमाथि आलोचनात्मक टिप्पणी गरे पनि सत्तारुढ दलका सांसदहरुले बजेटको प्रतिरक्षामा धारणा राखेका थिए ।
सत्तापक्ष सांसदहरुले बजेटले समग्र र सन्तुलित विकासलाई प्राथमिकतामा राखेको, अघिल्ला वर्षको भन्दा यसपालीको बजेट राम्रो आएको दाबी गरेका थिए ।






