बुटवल,१८ असार ।
रुपन्देहीको तिलोत्तमा स्थित डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्था संकटमा परेको छ ।

सहकारी आर्थिक संकटमा फसेपछि संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापक मोवाइल स्वीच अफ गरी सम्पर्क बिहीन भएका छन् ।

सहकारीको उपाध्यक्षसहित कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरुले कार्यालय बन्द गर्ने निर्णय गरी प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् ।

तिलोत्तमा नगरपालिका वडा नं –३ सिर्जना चोकमा रहेको उक्त सहकारी संकटमा परेपछि ठूलो संख्यामा बचतकर्ताहरुले बचत रकम फिर्ताको माग गर्दै निवेदन दिएका छन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ ।

सोमबार संस्थामा भएको अनियमितताबारे छानविन गर्न छानविन समिति बनाउने र उक्त छानविन समितिलाई सघाउन स्वतन्त्र लेखापरीक्षण गर्ने निर्णय भएको थियो । तर मंगलबारको बैठकमा अध्यक्ष, सचिव र व्यवस्थापकले माइन्युट नै च्यातेर हिंडेपछि माहौल बिग्रिएको संस्थाका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए । अध्यक्ष, सचिव र व्यवस्थापक माइन्यूट च्यातेर हिंडेपछि बाँकी रहेका पदाधिकारीले सहकारीमा तालाबन्दी गर्ने निर्णय गरेका थिए । कागजपत्र जग्गा धितो राखेर अपचलन भएको रकम मिलाउने गरी माइन्यूट गरेकोमा उक्त माइन्यूट नै च्यातेर सम्पर्क बिहीन भएपछि अन्य पदाधिकारी तथा सदस्यहरुले संस्थामा थप आर्थिक हिनामिना हुन नदिन भन्दै मंगलबार तालाबन्दी गरेका थिए ।

सहकारीबाट ५ लाख रुपियाँ ऋण लगेका व्यक्तिको ८५ लाखको कागजमा ल्याप्चे लगाइएको छ भने १२–१३ लाख बराबरको धितोमा ९५ लाख रुपियाँ ऋण प्रवाह गरेको देखिएको दाबी गरिएको छ ।

सहकारीमा करिव १९ सयको हाराहारीमा शेयर सदस्य रहेका छन् । घटना बारे प्रतिक्रिया लिन अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर तिवारी र व्यवस्थापक वसन्त पराजुलीलाई सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क हुन सकेन ।