बुटवल,१७ असार ।
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज बस्दै छ ।
दिउँसो दिउँसो ३ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा दुईवटा मुख्य कार्यसूची रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले वक्तव्यसहित‘आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान’ माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । सो प्रस्तावमाथि सभामा छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने कार्यसूची छ ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कार्कीबाट ‘आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक’ पनि प्रदेश सभामा पेस गर्ने कार्यसुची रहेको छ ।
बजेटमाथिको छलफलका लागि यसअघि असार ७ गते प्रदेश सभाको बैठक बाेलाइएकाे भए पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेको थियो । बजेट प्रस्तुत भएको १७ औँ दिनमा बैठक बस्न लागेको हो ।






