बुटवल,१६ असार ।
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ आधुनिक भवन निर्माण आयोजनाको २६ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
साेमबार प्राधिकरणले अस्पताल परिसरमै पत्रकार सम्मेलन गरि आयोजनाकाे प्रगति विवरण सार्वजनिक गरेको हो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलले आयोजनाको २६ प्रतिशत भौतिक प्रगति भएको र वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा रहेको जानकारी गराए ।
हालसम्मको कार्ययोजना र प्रगति तुलना गर्दा काम निर्धारित ढाँचामा अघि बढेको भन्दै उनलेे कुनै प्राकृतिक विपत्ति वा आर्थिक संकट नभएमा सम्झौता भएको समयभन्दा अघि नै सम्पन्न हुने दाबी गरे ।
पाँच वर्षे आयोजनालाई तीन वर्षमै सक्ने गरी तिब्र गतिमा काम भइरहेको भन्दै प्रमुख कार्यकारी अधिकृत पाेखरेलले रकमको अभाव नभए सम्पन्न हुनुपर्ने मिति भन्दा अगाडिनै भवन हस्तान्तरण गर्ने बताए ।
प्राधिकरणका अनुसार आयोजनाकाे मुख्य संरचना बेसमेन्टसम्म तयार, क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको छ । प्राधिकरणका साइट इन्जिनियर शंकर सुवेदीले दोस्रो बेसमेन्टको ढलान सकिएको र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलानका लागि छड बुन्ने कार्य भइरहेको जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको ¥याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको उनलेे बताए ।
सरकारले दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहित अस्पतालको लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ लाग्ने अनुमान गरेको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थाले पाएकाे छ । वि.सं.२०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद (२०८५ पुस २५) भित्र ६ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।
१२ तले नयाँ भवनकाे तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको थियो । अहिले सोहीअनुरुपको निर्माण कार्य भइरहेको छ । यसको सुपेरीवेक्षण समेत निरन्तर भइरहेको छ । यसमा विशिष्टीकृत ग्यास्ट्रो एन्टेरोलोजी, न्युरोलोजी, कार्डियोलोजीलगायतका सबै विभागीय सेवा एउटै भवनबाट सञ्चालन गर्ने योजना रहेको छ ।
अन्तर्राष्ट्रिय निर्माण मापदण्डअनुसार काठमाडौ विश्वविद्यालय अन्तर्गतको ‘काठमाडौ यूनिक सल्ट सेन्टर’ लाई ‘जी–टु–जी’ माध्यमबाट सुपरिवेक्षणको जिम्मा दिइएको छ । प्राध्यापकको नेतृत्वमा १६ जनाको टोलीले डिजाइन र निर्माण सुपरिवेक्षण गरिरहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार निर्माण कम्पनीको १० जना विशेष प्राविधिक सदस्यसहित २२० जना कामदारहरू दैनिक रूपमा खटिएका छन् ।
हाल अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी, साथै सरकार र विकास समितिबाट सयौं कर्मचारी कार्यरत छन् ।
पत्रकार सम्मेलनमा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले यो अस्पतालको स्तरोन्नती भएपछि स्वास्थ्य क्षेत्रमा यस क्षेत्रमै कायापलट हुने बताए ।








