बुटवल,१६ असार ।
होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीमा शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

हालै सम्पन्न संघको २४ औँ वार्षिक साधारणसभा तथा १२ औँ अधिवेशनबाट माधवकुमार खनालको नेतृत्वमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरले निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्ने नीति लिएको उल्लेख गर्दै निजी क्षेत्रसँगको सहकार्यबाटै समृद्धि प्राप्त हुने बताए । हरेक क्षेत्रको विकासका लागि सहमती, सहकार्य र एकता जरुरी रहेको भन्दै पर्यटनको विकास र विस्तारका लागि कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गरे ।

बुटवल उपमहानगरका उपप्रमुख सावित्रीदेवी अर्यालले बुटवलको पर्यटन विकासका लागि बुटवललाई पर्यटकको विश्राम स्थलको रूपमा विकास गर्नु पर्नेमा जोड दिइन् ।

संघका कानुनी सल्लाहकार तथा प्रमुख निर्वाचन अधिकृत सालिकराम बञ्जाडेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताए । कोरोना महामारीपछिको आर्थिक मन्दीका कारण करोडौं लगानी गरेका होटल व्यवसायी थप समस्यामा परेको भन्दै उनले सरकारले होटल व्यवसायीका समस्या समाधानमा प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जिसी,सल्लाहकार गोपाल राना लगायतले पर्यटनको विकास विना मुलुकमा आर्थिक सम्वृद्धि हुन नसक्ने भन्दै तीनै तहका सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा जाेड दिए । उनिहरुले पर्यटन व्यवसायीले गरेको लगानीको सुरक्षामा राज्य गम्भिर हुन जरुरी रहेको बताएका थिए ।

साे अवसरमा संघका अध्यक्ष लेखनाथ भण्डारीले नवनिर्वाचित अध्यक्ष माधवकुमार खनाल तथा महासचिव अर्जुन थापाले नवनिर्वाचित महासचिव केशवराज कँडेललाई माइन्युट हस्तान्तरण गरेका थिए । वि.सं. २०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका करिब एक हजार व्यवसायी आबद्ध रहेकाे संघले जनाएको छ ।

संघको १२ औँ अधिवेशनबाट अध्यक्षमा माधवकुमार खनाल, वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा,पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई,तृतीय उपाध्यक्ष राम बहादुर न्याैपाने, महासचिवमा केशवराज कँडेल,सचिवमा बाबुराम अर्याल र तुल्सिराम पराजुली, कोषाध्यक्षमा अर्जुन पोखरेल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका थिए ।

यस्तैगरी,सदस्यहरुमा युवराज पराजुली, जनक पाण्डे, गोर्कण रायमाझी, श्रीराम भण्डारी, सन्तोष खड्का, केशवराज पाण्डेय,एकादेव पाण्डे (सुरज), सुन्दरकुमार श्रेष्ठ, पिताम्बर खनाल, दामोदर उपाध्याय र नारायणप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए ।