बुटवल,१६ असार ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा नवनिर्वाचित दीपक भट्टराई नेतृत्वको कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

आईतबार साँझ बुटवलमा आयोजित एक कार्यक्रमकाबीच क्लवका नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण सहित पदभार हस्तान्तरण गरिएको हो ।

क्लवमा रोटरी वर्ष २०२५।२६ का लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको थियो । त्यस अवसरमा क्लवकी एसाईन एजी कमला हमालले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्ष भट्टराईले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकाे क्लबले जनाएको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकासका लागि निजी क्षेत्र र स्थानीय सरकार मिलेर काम गर्नुपर्नेमा जाेड दिदै त्यसका लागि बुटवल उपमहानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अगाडि सारेको बताए ।

रोटरी डिष्ट्रिक एसिष्टेन्ट गभर्नर हमालले साे क्लवले धेरै राम्रो काम गरेको आफूले सुनेको बताउँदै क्लवको गतिविधिमा संगै हुन पाउँदा खुसी लागेको बताए । यो वर्ष पनि क्लवले रचनात्मक काम गरेर उदाहरण प्रस्तुत गर्ने उनको विश्वास छ ।

त्यसैगरी अर्का एसिस्टेन्ट गभर्नर सुमन गोपालाचार्यले पनि क्लवको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरे ।
कार्यक्रममा क्लवका अध्यक्ष देवीराम पाण्डेले आफूले वर्षभरी गरेका कार्यक्रमहरुको फेयरिस्त प्रस्तुत गर्दै पुरा गर्न नसकेको कामलाई निरन्तरता दिन नयाँ कार्यसमितिलाई आग्रह गरे । उनले आफू नयाँ कार्यसमितिको साथमै हुने भएकाले पूर्ण साथ सहयोग रहने पनि प्रतिवद्धता जनाए ।

नवनिर्वाचित अध्यक्ष दीपक भट्टराईले कार्ययोजना प्रस्तुत गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिनुका साथै नयाँ र रचनात्मक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लबका उपाध्यक्ष देवीलाल भट्टराईको स्वागत तथा सचिव अर्जुन आचार्य र नवनिर्वाचित सचिव किशोर विकको सञ्चालनमा भएको कार्यक्रममा वर्षभरी सहयोग गर्नेहरुलाई सम्मान गरिएको जनाइएको छ ।