बुटवल,११ असार ।
सञ्चारिका समूह लुम्बिनीकाे आयोजना तथा बुटवल उपमहानगरपालिकाकाे सहयोगमा आजदेखि बुटवलमा मल्टिमिडिया माेबाइल पत्रकारीता कार्यशाला सुरु भएको छ ।

कार्यशालाकाे बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।

साे अवसरमा नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले नगरवासीहरूलाई सीपसँग जाेडेर स्वराेजगार बनाउदै आत्मनिर्भर बनाउने योजना अनुरूप विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको बताए ।

जनताको नजिकको सरकार भनेको स्थानीय तह भएकोले बुटवल उपमहानगरपालिकाले विभिन्न पेसागत तथा ब्यवसायीक संघ संस्थाहरूसँगकाे सहकार्यमा विभिन्न किसिमका सीपमूलक तालिम एवं क्षमता अभिबृद्वि कार्यक्रमलाई प्राथमिकता दिएको उनलेे बताए ।

सुचना तथा संचार प्रविधिकाे क्षेत्रमा भइरहेको तिब्र विकाससँगै पत्रकारहरूले पनि समयानुकूल र प्रविधिमा आधारित पत्रकारिता गर्नुपर्नेमा जाेड दिदै नगर प्रमुख पाण्डेयले पत्रकारहरूकाे क्षमता अभिबृद्विका लागि बुटवल उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

सञ्चारिका समूह लुम्बिनी अध्यक्ष अमृता अनमाेलले सुचना प्रविधिको क्षेत्रमा भइरहेकाे नविनतम प्रविधि अनुरूप पत्रकारहरू पनि अभ्यस्त हुन जरुरी रहेको भन्दै नविनतम प्रविधिकाे प्रयोग मार्फत आफ्नो क्षमता अभिबृद्वि गराउने उदेश्यले कार्यशाला आयोजना गरिएको बताइन् ।

१८ जना पत्रकारहरूकाे सहभागीता रहेको कार्यशालाकाे पहिलो दिन आज चर्चित फाेटाे पत्रकार मनाेज पाैडेलले अभिमुखिकरण गरेको सञ्चारिका समुह लुम्बिनी महासचिव माया केसीले जानकारी दिइन् ।

कार्यशाला पाँच दिनसम्म चल्ने आयोजकले जनाएका छन् ।