डाेटी,६ असार ।
डोटीमा जिप दुर्घटना हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । दीपायल सायल भित्री सडक खण्डमा पर्ने डोटीको आर्दश गाउँपालिका १ खिराधार धौलामाटीमा जिप दुर्घटना भएको हो ।

दुर्घटनामा डोटीको सायल गाउँपालिका ४ सुन्डका ४१ वर्षीय हरुदेवी विक र जिप चालक आदर्श गाउँपालिका ७ दडिमानाका २७ वर्षीय सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय,डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी सायल गाउँपालिका ६ कटुवाल गाँउकी ३५ वर्षीया काली कटुवालको उपचारको क्रममा मृत्यु भएको हो ।

दुवै खुट्टा, निधार, ढाड र शरीरको विभिन्न भागमा चोट लागेकी उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको प्रहरीले जनाएको छ । आदर्शबाट मेल्लेख तर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ज १३९५ नम्बरको जिप घुम्तीमा अनियन्त्रित भएर सडकबाट २५० मटिर तल भिरमा खसेको थियो प्रहरीले जनाएको छ ।

दुर्घटनामा आदर्श गाउँपालिका ३ नुवाकोटका १४ वर्षीय अनिता विक, सोही ठाउँकी १६ वर्षीया स्यानु विक, आर्दश गाउँपालिका ७ दडिवानाका १४ वर्षीय दीपक विष्ट र सायल गाउँपालिका ६ कटुवाल गाँउकी १० वर्षीया सविता कटुवाल गम्भीर घाइते छन् ।

घाइते आर्दश गाउँपालिका ७ दडिवानाका २२ वर्षीय कैलाश विष्टको अवस्थामा मध्यम छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।