बुटवल,१५ जेठ ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले उन्नत,अग्रगामी,संघीय लोकतांत्रिक गणतन्त्रात्मक व्यवस्थामा नै नेपाल र नेपाली जनताको भलाई हुने बताएका छन् ।

१८ औं गणतन्त्र दिवसको अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले नेपाल र नेपालीको भलाई भनेको उन्नत,अग्रगामी,संघीय लोकतांत्रिक गणतन्त्रात्मक व्यवस्था नै हो भन्नेमा पार्टी प्रष्ट र अडिग रहेको जनाएका हुन् ।

नेपाली जनताको लामो त्याग, तपस्या र बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्रकै जगमा मुलुकलाई संघियता,धर्मनिरपेक्षता, समानुपातिक पद्धति मार्फत सवै समुदायलाई राष्ट्रिय मूलधारमा समाहित गर्दै आधुनिक राष्ट्रिय एकीकरणको सूत्रमा अगाडि बढाउने लोकतान्त्रिक अवसर प्राप्त भएको भन्दै सन्देशमा सक्षम राष्ट्रिय नेतृत्व दिने सच्चा लोकतान्त्रिक शक्तिको उदयले त्यो राष्ट्रिय आकांक्षालाई साकार पार्ने विश्वास पनि व्यक्त गरेका छन् ।

आजसम्मको गणतान्त्रिक अभ्यासले हामीलाई प्रयाप्त राजनैतिक सन्तुष्टि दिनसक्ने अबस्था आउन नसकेको सत्य भएको स्मरण गर्दै उनलेे तर,गणतन्त्रको विकल्प कुनै पनि किसिमको अधिनायकवाद वा निरंकुशता हुनै नसक्ने दाबी गरेका छन् ।

आजको ऐतिहासिक दिनमा,राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट संविधान सभामा नेपालको राष्ट्रिय एकताको प्रतीकको रूपमा हालको राष्ट्रपतिको सट्टा नेपालको समुहगत र महिला प्रतिनिधित्व समेत सुनिश्चित रहने अध्यक्ष मण्डल पद्धतिको प्रस्ताव गरिएको स्मरण गर्दै उनलेे आजपनि सो पद्धति प्रति पार्टी अडिग रहेको उल्लेख गरेका छन् ।