ललितपुरका कुमार एक्लैले गरे एक लाख सहयोग
बुटवल,२५ चैत ।
आर्थिक अभावका कारण उपचार सकिएर पनि अस्पतालमै
बसेका नवलपरासीका २६ वर्षिया नरेन्द्र यादब आइतबार बेलुका घर फर्किएका छन् ।
साथीहरूले खुट्टा भाचिदिएपछि बुटवलको मर्सिसिटी अस्पतालमा उपचार गराएर निकाे भएका यादव अस्पतालकाे खर्च बुझाउने रकम नहुँदा निकाे भएर पनि १ महिना भन्दा बढी समय अस्पतालमै बस्नुपरेको हो ।
उपचार खर्च अभावमा अस्पतालमै बस्नुपरेको समाचार विभिन्न सञ्चार माध्यममा आएपछि ललितपुर महानगरपालिका १८ सैबु, भैसेपार्टी बस्ने कुमार थापाले १ लाख रुपैंया अस्पतालको बैंक खातामा जम्मा गरेपछि नरेन्द्र घर जान पाएका हुन ।
निको भएर डिस्चार्ज हुँदा घर जान नपाएको समाचार टेलिभिजनमा हेरेपछि साह्रै दुख लाग्यो र केही न केही सहयोग गर्नुपर्छ भन्ने मनसायले सहयोग रकम पठाएको उनले बताए ।
१ लाख रकम पठाएको केही समयमा नै बिरामीको डिस्चार्ज भएर घर फर्किएको खबर सुन्न पाउँदा खुशी लागेको थापाले सुनाए ।
खुट्टा भाँचिएर संख्त घाईते अवस्थामा गत फागुन ५ गते नरेन्द्र मर्सि सिटी अस्पतालमा भर्ना भएका थिए । पैसा नभएपनि उनको उपचारमा अस्पतालले कुनै कमी हुन नदिएको र स्वास्थ्य अवस्थाा अहिले सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा गोपाल श्रेष्ठले जानकारी दिए ।
उपचार खर्च नभएको एकिन भएपछि भने अस्पतालले करिब ५० प्रतिशत छुट दिनुका साथै क्यान्टिन सञ्चालकले समेत ६ हजार रूपयाँ छुट गरेको थियो ।
यस्तै बुटवलका बोनिन पिया अध्यक्ष रहेको रोयल ग्रुपले क्यान्टिनको १० हजार रकम तिरिदिएको छ । पाल्पा घर भई हाल दुबईमा रहेका दीपक भण्डारीले ६ हजार ४ सय र बुटवलका भविश्वर भण्डारीले २२ हजार ४ सय सहयोग प्रदान गरेका छन ।
अस्पतालमा नरेन्द्रको २ वटा अप्रेशन,बेड खर्च,डाक्टर भिजिट गरी १ लाख ११ हजार ४०५, ईन्पलान्ट रडको ३५ हजार र औषधी उपचार ३३ हजार गरी १ लाख ९२ हजार ४०५ खर्च लागेको अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए । गरिब तथा बिपन्न परिवार भएकाले अस्पतालले ९२ हजार ४०५ रूपयाँ छुट गरेको उनलेे बताए ।
त्यसाे त उनलेे बिरामी र बिरामीका कुरूवालाई घरसम्म जाने गाडिभाडा समेत श्रेष्ठले ब्यक्तिगत रूपमा सहयोग गरेका थिए ।
गत फागुन ४ गते गाउँकै लागुऔषध दुब्र्येसनीमा फसेका ३ युवाको कुटपिटबाट नरेन्द्रको खुट्टा भाँचिएर घाईते भएका हुन् । घाईते छोरालाई उपचारको लागि उनकी आमा सितादेवीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याए पनि बेड नपाएपछि फागुन ५ गते बुटवलको मर्सिसिटी अस्पतालमा भर्ना गरेकी थिईन । डाक्टरले फागुन १७ गते डिस्चार्ज दिएपनि अस्पतालमा बुझाँउने पैसा नहुँदा उनि डिस्चार्ज हुन पाएका थिईनन । नरेन्द्रलाई घाईते बनाएका ३ युवा भने अहिले फरार रहेका छन ।
उपचार खर्च जुटेसँगै अस्पताल बसाईको ४९ औं दिन आईतबार बेलुका नरेन्द्र घर फर्किएका छन् । डिस्चार्ज भएको ३६ औं दिनका दिन उनि घर फर्किएका हुन् ।
“कहिले छोरालाई घर लैजान पाउँछु भन्ने थियो, साहु महाजनसँग हारगुहार गरे तर कसैले ऋण पत्ताएनन् नरेन्द्रकी आमा सितादेवी भन्छिन्–“घर भएको जग्गा पनि लोनमा छ, लोनमा नभएको भए पुर्जा राखेर भए पनि बाबुलाई निकाल्न पाउँथे, तर त्यो जग्गा पनि सडेको माछा जस्तै भयो ,मेरो केही उपाए थिएन ।”
समाचारका कारण आईतबार बिहान सहयोगको लागि फोन आएपछि बल्ल बाबुलाई घर ल्यैजान पाउने भए भन्ने आशा जाग्यो सितादेवीले छोराई घर ल्यैजादै गर्दा भनिन् । “भगवान आएर उद्धार गरे जस्तै भयो,डाक्टरले डिस्चार्ज दिएको ३४ औं दिनमा छोरालाई घर लिएर जाँदै छु ।” नरेन्द्र भन्छन्–“अस्पतालमा बस्दा बस्दै म थाकि सकेको थिए,आमाले कतै पैसा नपाउँदा म यति छिट्टै घर जान्छु भन्ने सोचेको थिईन’, पत्रकार अस्पताल आईसकेपछि, बल्ल घर जान्छु कि भन्ने आश जाग्यो ।’ सहयोगी मनहरु भगवान बनेर आईपुग्दा म घर जान पाएको छु ।”
आइतबार दिउँसो संचारकर्मीहरू अस्पताल पुग्दा पुग्दा उनको प्रश्न थियो म घर कहिले जान पाउँछु । सँगै रहेका अरु बेडमा कति बिरामी आए सन्चो भएर घर फर्किरहेको दृश्य उनले देखिईरहेका थिए । सँगै नरेन्द्रकी ५५ वर्षिया आमा सीतादेवी यादब छोरासँगै बेडमा देखिन्थिन् त कहिले अस्पताल बाहिर भौतारिरहेकी हुन्थिन् । खुट्टा भाचिएर घाईते छोराको उपचार भएर डिस्चार्ज हुदाँसमेत सीतादेवीले छोरालाई घर लैजान पाएकी थिईनन् ।
अस्पतालमा पैसा तिर्न नसक्दा नरेन्द्र घर जान नपाएको समाचार हिमालय टेलिभिजनलगायतका संचारमाध्यम मार्फत हेर्दा थाहा पाएपछि थापाले पिडितलाई सहयोग गरेका हुन् ।