पाल्पा,२१ चैत ।
पाल्पाको तानसेनमा आज सडक खाना महोत्सव सञ्चालन भएको छ ।

‘सडकमै खाउ, सडकमै रमाऔं, स्थानीय खानालाई प्रोत्साहन गरी सरस्वती मन्दिर जीर्णाेद्वारमा टेवा पुर्याऔं’ भन्ने नाराका साथ तानसेनकाे भिमसेन टोलमा
सडक खाना महोत्सव आयोजना गरिएको आयोजकले जनाएका छन् ।

तानसेन नगरपालिका वडा नं ६ भिमसेन टोल विकास संस्था १ अन्तर्गत महिला उपसमितिकाे आयोजनामा सडक खाना महोत्सव सञ्चालन भएको हो ।
स्थानीय एवम् रैथाने खाना, कला, संस्कृति प्रवर्द्वन र संरक्षण गर्ने उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको टोल विकास संस्थाकी अध्यक्ष पुतलीदेबी शाक्यकाे भनाइ छ ।
महाेत्सवमा ३० भन्दा बढी स्टलहरु सहभागी रहेको शाक्यले बताइन् ।
सडक खाना महोत्सवले स्थानीय खानाका परिकार एवं कला–संस्कृतिको प्रवद्र्धन गर्न मद्दत पुग्ने तानसेन–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए ।
खाना महोत्सवमा जंक खानेकुरा पूर्ण रूपमा निषेधित गरिएको वडा अध्यक्ष महर्जनकाे भनाइ छ ।
महोत्सवमा कुटीर तथा घरेलु उद्योगबाट महिलाहरुले उत्पादन गरेका सामग्रीहरु पनि प्रदर्शनी तथा विक्रीवितरण भइरहेको छ ।
स्थानीय खानेकुराको प्रदर्शनी तथा विक्रीसँगै स्थानीय भजन, चुड्का लगायतका स्थानीय कलाकारहरूको साँस्कृतिक प्रस्तुति रहेको छ ।
भिमसेन टोल विकास संस्थाका अध्यक्ष प्रकाशनाथ गंगाोलले टोल विकास संस्थाका महिलाहरूले सरस्वती मन्दिरको जिर्णोद्वार गर्ने उद्देश्यले खाना महोत्सव गर्न लागेको जानकारी दिए ।
तानसेन नगरपालिकाका महिलाहरूलाई उद्यमशील बनाउन, नेवारी र मगर लगायतका खानेकुराहरूको प्रचारका लागि कार्यक्रम आयोजना गरिएको उनले बताए ।
महोत्सवमा स्थानीय र मुस्लिम खानालाई समेत प्रोत्साहन गर्ने योजना समेत रहेको उनकाे भनाइ छ । नारायण टोलदेखि भिमसेन टोलसम्मकाे सडकमा सञ्चालन भइरहेको खाना महोत्सव रातीसम्म चल्ने आयोजकले जनाएका छन् ।






