नवलपरासी,८ चैत ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ७ मा रहेका दुई ठूला उद्योग, लक्ष्मी स्टिल र पाल्पा सिमेन्ट उद्योगले सहमति पालना नगरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
शुक्रबार बसेकाे स्थानीय राजनीतिक दलहरूको संयुक्त बैठकले उद्योगहरूले जनस्वास्थ्यप्रति खेलबाड गर्नुका साथै समुदायसँग भएको सहमति अनुसार उद्योग सञ्चालन नगरेको भन्दै जनस्वास्थ्यप्रति खेलबाड नगर्न र सहमति पालना गर्न आग्रह गरेका हुन् ।
नेपाली कांग्रेसका वडा सभापति गुप्त बहादुर केसीका अनुसार उद्योगहरूले वायु प्रदूषण नियन्त्रण र सामाजिक उत्तरदायित्व अन्तर्गतको बजेट विशेष रूपमा प्रभावित क्षेत्रमा लगानी गर्नुपर्ने स्थानीयको माग रहेको छ ।
बैठकमा नेपाली कांग्रेससहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायतका दलहरूले उद्योगहरूले स्थानीय समुदायलाई उपेक्षा गर्दै काम गरिरहेको आरोप लगाएका थिए । पाल्पा सिमेन्टका कर्मचारीले चैत ६ गते सिसाहानी संघर्ष समितिका सदस्यमाथि हातपात गरेको भन्दै बैठकले घटनाप्रति आपत्ति जनाएकाे छ । साथै, बौद्ध मार्ग निर्माणको काम छिटो सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्ने निर्णय समेत दलहरुले गरेका छन् ।
स्थानीय बासिन्दाले उद्योगका गाडीहरूको आवतजावतमा अवरोध गर्दै आएका छन् । उद्योगहरूले सडकको धुलो नियन्त्रण नगरेको र रातिको समयमा कारखानाबाट धुवाँ निष्कासन गरी वातावरण प्रदूषण गरिरहेको स्थानीयको आरोप छ ।








