Share this News on Social Networking Pages

बुटवल,२० माघ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आइतबार कण्डेलसहित विद्यालय सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जिल्लाकाे पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ५ स्थित उक्त विद्यालयका सहायक लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारले भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुप्ता र कहारलाई सेवाग्राहीबाट ६५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेलसमेतको मिलोमतोमा भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानीका लागि घुस मागेको पुष्टि भएकाले कैद र बिगो बमोजिम जरिवाना सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।