टाेप अस्लामी
२० जनवरी २०२५ (७ माघ २०८१, सोमबार) का दिन डोनाल्ड ट्रम्प (Donald John Trump) ले अमेरिका (USA) को ४७ औं राष्ट्रपतिको शपथ लिनु भएको छ ।

सात समुद्र पारीको देशमा जो सत्तासिन भए पनि हामीलाई व्यक्तिगत रूपमा त “न हर्ष न विस्मात” होला । तर करोडौ मानव समुदायको विश्वास जोडिएको साथै वैश्विक सम्बन्धका कारण अर्बौं मानव समुदायको स्वार्थ जोडिएको घटनाक्रमले विश्व परिवेश र राष्ट्रिय जीवनमा अवश्य फरक पार्नेछ । २०१६ को आम निर्वाचनबाट ४५औं अमेरिकी राष्ट्रपति घोषित हुँदा बखतको र उहाँको कार्यकालको परिदृश्य आज पनि स्मरणीय नै छ ।

सन् २०१६ को निर्वाचनमा अमेरिकी जनताले मेक अमेरिका ग्रेट अगेन को नारालाई बिद्युतिय मतदान मार्फत विजयी बनाएकोमा सन् २०२४ को नोभेम्बर ५ मा सम्पन्न निर्वाचनमा विपक्षी कमला ह्यारीसकाे भन्दा बढी पपुलर मत पनि दिएर डाेनाल्ड ट्रम्प को अमेरिका फस्ट भन्ने नारालाई स्थापित गरेका छन् । यसका साथै छिमेकी नीति (मेक्सिको सीमा नीति) लाई पूर्ण रूपमा कसिलो (कडाई) गरिएको छ । यसले गर्दा आप्रवासीहरुको अमेरिका प्रवेश धेरै असजिलो हुन पुगेको छ । यसै बीच हाल अमेरिकामा रहँदै आउनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सहित विश्वका अन्य मूलुकका समेत लाखौं आप्रवासीहरुको भविष्य कस्तो हुने भन्ने आम चासो र चिन्ता व्यक्त भईरहेको छ ।

अमेरिकालाई बलियो बनाउन विभिन्न घरेलु नीति घोषणा भईसकेको छ । त्यसका साथै विश्वभरी “अमेरिका फस्ट” नीति नै अख्तियार गरिने भएपछि ट्रम्प प्रशासन आक्रामक ढङ्गले अगाडि बढ्ने बुझिन्छ । यसले गर्दा विश्व राजनीति र हाम्रो भूराजनीतिमा समेत यसले अवश्य असर पुरयाउने नै छ ।

अधिकार (अस्तित्व) को लडाईं र सुशासन केन्द्रित न्यायका लागि संघर्ष स्वदेशभित्रै पेचिलो बनेर जानेछ । सदियौदेखि लिने ठाउँमा रहेकाहरुले राजनीतिक सुझबुझलाई परिपक्व ढङ्गले आत्मसाथ गर्ने तर्फ गम्भीर नहुने वा “निहित स्वार्थ” केन्द्रमा राख्ने प्रवृत्ति त्याग्न नसकेमा वा सम्झ्यौतावादी/परजीवि/लपस्तराे/अहमतायुक्त/झुण्डवादी – संकीर्ण प्रवृत्ति सेरोफेरो नै अलमलिने वा रोमाञ्चित हुने अवस्थाबाट पार पाउन नसकेमा (वा त्यस्तो त्यागको लागि तयार हुन नसकेमा) समाज र मूलुकले “भुई न भाँडोको” अवस्थाबाट थप प्रताडित हुनु नपर्ला भन्न सकिन्न । यसले गर्दा असल सोंच र कर्मलाई राज्यको बागडोर सम्हाल्ने तहसम्म स्थापित गर्दै भविष्यको पुस्तामा आशाको सञ्चार सम्प्रेषण गर्न समर्पितहरुका हकमा गहकिलो चुनौति अगाडि नै आइपुगेको स्पष्ट देखिन्छ ।

विश्वमा एकमना चिन्तनको अभ्यास बढोत्तरी नै छ । शक्ति राष्ट्र भनिएकाहरुमा स्थापित र शासकीय बागडोर सम्हालेका राजनीतिक विचार र त्यसको कार्यान्वयनको होडबाजीले यही भन्दछ ।
यदि सरासर यस्तो हो भने कमजोर भनिएका देशहरूमा थप अराजकता र भाँडभैलोलाई कसैले रोक्न सक्ने स्थिति हुनेछैन । र, कालान्तरमा न्यायका पक्षधर आम मानव समुदायलाई पनि यस्तो परिस्थितिले चैनसंग निदाउन दिने छैन ।

कुनै पनि शासकले आफ्नो देश र जनताको सर्वोच्चता चाहनु अनौठो त होईन तर त्यो चाहना अरूको दमन र दयनीय स्थिति बनाउनका लागि नहोस् भन्ने तर्फ पनि उत्तिकै उत्तरदायी देखिनु जरुरी छ । सबै मानव समुदायले शान्तिपूर्वक जीवन निर्वाह गर्ने अवसर पाउनु पर्दछ । स्वदेशमा भने दलाली गर्नेहरूप्रति प्रत्येक कदममा सबैको ईमान्दार र कडा निगरानी हुनु स्वतन्त्र र सार्वभौम देशका नागरिकहरुको कर्तव्य हो ।

हाम्रो शुभेच्छा, माग र दवाब पनि हो -अमेरिकाका नव निर्वाचित (४७ औं) राष्ट्रपतिको अमेरिका फस्ट पोलिसी विश्व शान्ति र आम मानव समुदायको हितको लागि हो भन्ने सावित होस् ।

हाम्रो हार्दिक शुभेच्छा छ -अबको अमेरिकी नेतृत्व कम विवादरहित होस् । अमेरिकाका ४७औं राष्ट्रपति महामहिम डाेनाल्ड ट्रम्प ज्यूलाई हार्दिक बधाई सहित सफल कार्यकालको लागि मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

(अस्लामी राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव/परराष्ट्र विभाग प्रमुख हुन् )