बिराटनगर,२४ पुस ।
सहकारी ठगी प्रकरणमा संलग्न रही फरार भएकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छिन् ।
कोइराला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकाे अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अदालतमा उपस्थित भएकी कोइरालाको उद्धव प्रसाद भट्टराईको इजलासमा बयान सुरु भएको उनले बताए ।
मोरङ धनपालथान-४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा पक्राउ पुजी जारी भएपछि उनी फरार भएकी थिइन् । साे सहकारीको मुद्दा यसअघि नै अदालतमा दर्ता भइसकेको छ ।
कोइरालाकाे बयानपछि थुनछेक बहस हुने अदालतले जनाएको छ । त्यसपछि उनलाई धरौटीमा तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा कारागार पठाउने भन्ने आदेश हुने छ ।








