रामेछाप,१४ मंसिर ।
रामेछापमा सुमो जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्लाकाे गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतलगायत पाँच जना रहेका छन् ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोस्थित सिमखोलामा दुर्घटना भएको रामेछाप प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम खड्का मगरले जानकारी दिए ।

सुमोमा आठ जना सवार थिए । अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि अस्पताल पठाइएको उनले बताए ।

प्रहरीका अनुसार सुमो सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । मृत्यु हुने जनप्रतिनिधि बस्नेत नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।