पाल्पा,१० कार्तिक ।
११६ औं लक्ष्मी जयन्तीकाे अवसरमा लुम्बिनी साहित्य संगम,लुम्बिनी प्रदेश समितिकाे आयोजनामा शनिबार पाल्पाकाे तानसेनमा बृहत् साहित्यिक समारोह सम्पन्न भएको छ ।

लुम्बिनी साहित्य संगम,लुम्बिनी प्रदेश समिति अध्यक्ष भावना खनालको सभापतित्व र प्रतिनिधि सभा सदस्य ठाकुर गैरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दर्जनौं स्रष्टाहरूले आ आफ्नो रचना बाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गैरेले साहित्य समाज रूपान्तरण तथा परिवर्तनको माध्यम भएको भन्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरूले नेपालकाे राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका रहेको बताए ।

नेपालकाे समाज रूपान्तरण र राजनीतिक परिवर्तनमा साहित्यकारहरूकाे महत्त्वपूर्ण याेगदान रहेको स्मरण गर्दै उनलेे अग्रज स्रष्टाहरूले देखाएको बाटोमा हिड्न सके उनिहरूप्रति सच्चा सम्मान हुने उल्लेख गरे ।

साहित्यले हाम्रो कला,संस्कृति र संस्कारको रक्षा गर्ने भन्दै सांसद गैरले साहित्य केवल गाइने
सुनाइने मात्रै नभएर समाज परिवर्तन र रूपान्तरणकाे साधक भएको उनको भनाइ छ ।

साे अवसरमा लुम्बिनी साहित्य संगमका उपाध्यक्ष तथा साहित्यकार डा कृष्णराज डिसीले महाकवि देवकोटाकाे कृतित्व र ब्यक्तित्वकाे बिषयमा प्रकास पार्दै समाज परिवर्तन र रूपान्तरणमा उनको महत्त्वपूर्ण याेगदान रहेकाे बताए ।

महाकवि देवकोटा बहुआयामिक ब्यक्तित्व भएको भन्दै उनलेे नेपाली साहित्यिक इतिहासमा देवकोटाकाे याेगदानकाे बर्णन गरेर नसकिने उल्लेख गरे ।

लुम्बिनी साहित्य संगमकी काेषाध्यक्ष रमा पन्तकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सल्लाहकार तथा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य राजन प्रसाद पन्त,सल्लाहकार डा नारायण प्रसाद पन्थ,नागरिक समाज दाङका अध्यक्ष निम बहादुर थापा,पाेखराथाेक साहित्य समाजका अध्यक्ष गाेविन्द खनाललगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे जिवनी,साहित्य क्षेत्रमा दिएको याेगदानकाे बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

संस्थाका सह-सचिव मन बहादुर खत्रीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी,सल्लाहकार लगायत २९ जना साहित्यकारहरूले आ आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा एक सय बढी स्रष्टाहरूकाे सहभागिता रहेको संस्थाले जनाएको छ ।