धनगढी,२१ साउन ।
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन् ।
२६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहलेश राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका थिए । एमाले र कांग्रेसको गठबन्धन बनेपछि शाह चार महिना नबित्दै पुनः मुख्यमन्त्री भएका हुन् ।
सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् ।
त्यस्तै उनलेे कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
उनीहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।
कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।






