विराटनगर,२ साउन ।
प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टिएर दुर्घटना भएको हो ।

बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका हुन् ।

घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ भने ५ जनाकाे न्यूरो अस्पतालमा,२ जनाको विराट मेडिकल कलेजमा र १ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीको सचिवालयले जनाएको छ ।

घाइतेमध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको प्रहरीले जनाएको छ ।

सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी दुर्घटनामा परेको प्रहरी भनाइ छ । सडकको नालामाथि पल्टिएको गाडी डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय, रानीले जनाएको छ ।

मोहरम पर्वमा सुरक्षाका लागि थप बलका लागि प्रहरी लिएर रानीतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो ।