पाल्पा,२२ असार ।
नेपाली काँग्रेस पाल्पाले केहीदिन देखिको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरेर राहत तथा उद्दारमा तयारी अवस्थामा रहन प्रशासन तथा जिल्लाका पालिकाहरुलाई ध्यानाकर्षण गराएको छ ।

पार्टीले आम नागरिकलाई उच्च सतर्कता अननाउन पनि आग्रह गरेको छ ।

नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले एक विज्ञप्ती जारी गरी बिगत केही दिनदेखि लगातार बर्षा भइरहेकोले स्थानीय तहमा रहेको विपद व्यवस्थापन समितिलाई पुर्णता दिने र सो समितिको आवश्यकता अनुसार बैठक राखी समितिका गतिविधि जिल्ला विपद् व्यवस्थापन समितिलाई निरन्तर उपलब्ध गराउन जिल्लाका सबै पालिकालाई आग्रह गरेका हुन् ।

विगत केहीदिन देखिको अविरल वर्षाका कारण कैयौं स्थानमा जनजीवन अस्तव्यस्त भएको र ती ठाउँहरुमा यातायात, विद्युत तथा सञ्चार सम्पर्क प्रभावित भएको पाइएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ –‘सकेसम्म यात्रा तय नगर्नुहुन र यदि यात्रा गर्नुपरेमा सडकको अवस्था बुझेर उच्च सतर्कता सहित यात्रा गर्नुहुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।’

मौषम पुर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका उच्च जोखिममा रहेका ९ जिल्ला मध्ये पाल्पा पनि पहिरोको उच्च जोखिममा रहेको छ ।