काठमाडौ,३ जेठ ।
विपक्षी दलको बहिष्कारका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिएका छन् ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।

प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।

कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए । लगत्तै सभामुखले मत विभाजन प्रक्रिया सुरु गरे ।

त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिरिएका थिए ।

सत्ता पक्षका सांसदहरू मात्रै उपस्थित रहेको बैठकमा सभामुखले विश्वासको मतका लागि मतदान प्रक्रिया पूरा गराए ।

विश्वासको मत लिने प्रस्तावको पक्षमा २८ मत पर्‍यो । यससँगै मुख्यमन्त्रीले विश्वासको मत पाएको सभामुखले सदनलाई जानकारी गराए ।

प्रदेश प्रमुखले संविधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबरजस्ती प्रदेश सभा बैठक सञ्चालन गर्न खोजेको भन्दै यसअघि कांग्रेसका सांसदहरुले प्रदेश सभामा नाराबाजी गरेपछि आधा घण्टा बैठक स्थगित भएको थियाे ।