दाङ,२४ वैशाख ।
लुम्बिनी प्रदशेमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले राजिनामा दिएको
१५ दिनपछि पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरासँग छलफलपछि उनले सोमबार
कृषि तथा भुमि ब्यवस्था मन्त्रालयमा गएर जिम्मेवारी सम्हालेका हुन् ।

२५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो । तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि ९ वैशाखमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि पदभार सम्हाल्न तयार भएको उनले बताए ।

जसपा आइतबार साँझ फुटेको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । मन्त्री अहिरले भने कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताए । साथीहरुसँग छलफल गरेर कता बस्ने निर्णय गर्ने उनको भनाइ छ ।