बुटवल,२४ बैशाख ।
बुटवलको ट्राफिक चाेक स्थित मैत्रीपथमा निर्माण भएको मैत्रीपार्क प्रतिक्षालय तथा शुद्व पिउने पानीकाे उद्घाटन भएको छ ।

बुटवल ६ मैत्रीपथ स्थित पञ्चायन टोल विकास संस्थाकाे अगुवाइमा निर्माण भएको मैत्रीपार्क प्रतिक्षालय तथा शुद्व पिउने पानीकाे साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण,बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले टोल विकास संस्थाले बुटवलको अत्यन्तै महत्त्वपूर्ण ठाउँ ट्राफिक चाेकमा यात्रु प्रतिक्षालय निर्माण गर्नुका साथै शुद्ध पिउने पानीको ब्यवस्था गर्नु राम्रो काम भएको भन्दै टोल विकास संस्थाहरूले सीप विकास र उत्पादनसँग जाेडिनुपर्नेमा जाेड दिए ।

बुटवल उपमहानगरपालिकाले उज्यालो बुटवल,हरियाली बुटवल र सफा तथा स्व्च्छ बुटवलकाे अवधारणा अनुसार काम गर्दै आएको भन्दै नगर प्रमुख पाण्डेयले उपमहानगरपालिकाले शुद्ध पिउने पानीका लागि गत बर्ष १० वटा टंकी बितरण गरेको र यस ३० वटा पिउने पानी टंकी बितरण गर्ने योजना रहेको जानकारी गराए ।

तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले मानवीयता हराउदै गएको अवस्थामा यस्ता सामाजिक कार्य अनुप उदाहरण भएको भन्दै यसबाट अरूले पनि पाठ सिक्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रादेवी अर्यालले नगरको विकासमा टोल विकास संस्थाहरूकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै उपमहानगरपालिका टोल विकास संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढ्ने बताइन् ।

संस्थाकि अध्यक्ष लक्ष्मी प्रधानकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार शालिकराम बञ्जाडे,उपाध्यक्ष लक्ष्मी भट्टराईलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

टोल विकास संस्थाले भैलाे खेलेर जम्मा भएकाे ३ लाख ५० हजार समेत ७ लाख ७९ हजार लागतमा प्रतिक्षालय तथा शुद्व पिउने पानी टंकी राखिएको संस्थाले जनाएको छ ।