बुटवल,२४ बैशाख ।
चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी ३५ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका–४ का गोपाल रानामगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले उनलाई ३५ वर्षपछि आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।

जिल्ला अदालत रूपन्देहीले २०४६ साल असार १२ गते गरेको फैसलाले राना मगरलाई चोरीमा संलग्न ठहर गर्दै ९ हजार ४ सय २५ रुपैयाँ जरिवाना असुलउपर गर्न आदेश दिएको थियो । रानामगरलाई जरिवाना भुक्तानका लागि जिल्ला अदालत पेस गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट तीन दिन कैद र दुई हजार रुपैयाँ जरिवाना सुनाइएका फरार प्रतिवादीलाई १९ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई–१ का रामकिशुन कुर्मी रहेका छन् । उनलाई प्रहरीले फैसला बमोजिम कैद र जरिवाना भुक्तानका लागि आइतबार जिल्ला अदालतमा पेस गरिएको जनाएको छ ।

२०६२ साल असार २९ गते अदालतले फैसला सुनाएपछि उनी फरार रहेका थिए ।