पाल्पा,२३ बैशाख ।
नेपाल निजामती कर्मचारी युनियन पाल्पाकाे मित्रमिलन तथा नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
पाल्पाको तानसेन स्थित श्रीनगर डाडामा आयाेजित कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संघीय निजमती कर्मचारी ऐन कर्मचारी मैत्री गराउन नेपाली कांग्रेसका सांसदहरूले संसदमा पटकपटक आवाज उठाउदै आएको बताए ।
उक्त ऐन संसदबाट छिटो पास गर्नुपर्ने कुरामा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले नेपालका ७७ वटै जिल्लाका सभापतिहरू कर्मचारीहरूको पक्षमा उभिन र सरकारलाई झक्झकाउन तयार रहेको बताए ।
कम्युनिस्टहरूकै कारण नेपालकाे यो अवस्था भएको भन्दै उनलेे कम्युनिस्टहरू सरकारमा हुदा आवश्यक नभएको ठाउमा भ्यु टावर बनाउने,बाटोमा जथाभावी रूपमा बजेट हालैकै कारण अहिले देशको अर्थतन्त्र धरासयी भएको बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले युनियनको केन्द्रीय समितिले कर्मचारीहरूका मागलाई प्रमुख मुधा बनाएर अगाडि बढाएको बताए । संघीय निजमती कर्मचारी ऐन संसदमा दर्ता गराउन युनियनको महत्त्वपूर्ण भुमिका रहेको भन्दै उनलेे नेपाली कांग्रेसका सांसदहरूले पनि सदनमा आवाज उठाएको उल्लेख गरे ।
उनलेे कर्मचारीहरूका मागका बिषयमा नेपाली कांग्रेस पाटी र सरकार थप गम्भीर हुनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उत्तम कुमार कटवाल, केन्द्रीय खुल्ला उपाध्यक्ष यज्ञ वलि,पाल्पा जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना,केन्द्रीय खुला उपाध्यक्ष एवम गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मी,नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष पुरन गुरूङ्ग, केन्द्रीय महासचिव जनक रावल, केन्द्रीय महासचिव इन्दु शर्मा, केन्द्रीय सचिव प्रकाश भट्टराई लगाएतले संघीय निजमती कर्मचारी ऐन कुहिरोमा हराएको काग जस्तै भएको बताउदै त्यसलाई संसदबाट छिटो पारित गर्नुपर्ने बताए । ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रबी अर्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।








