रुपन्देही,२२ बैशाख ।
यात्रुसँग बढी भाडा लिएकाे आराेपमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सात ट्याक्सी र चालकलाई नियन्त्रणमा लिएको छ ।

तोकिएकोभन्दा बढी भाडा लिनेहरूमा लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज ३२६३, लु १ ज २३४३, लु १ ज ४०३१ र लु १ ज ३८९५ नम्बरका ट्याक्सी छन् । ट्याक्सी र चालकहरू रमेश सुनार, थमन थापा, मोहन अधिकारी, अर्जुन ठाकुर, सुमन अग्रवाल, अरुण राना मगर र आकाश गुरुङलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

रुपन्देहीमा भाडामा गुड्ने ट्याक्सी चालकहरूले मनपरी भाडा लिने गरेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेको स्टिङ अपरेसनका क्रममा बढी भाडा लिएको पाइएपछि ती ट्याक्सी र चालकलाई नियन्त्रणमा लिइएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिल अर्यालले शुक्रबार बिहान १५ जना कर्मचारीहरूलाई विभिन्न स्थानमा खटाई स्टिङ अपरेसन चलाएका थिए । जसमध्ये पाँच जना एयरपोर्ट, पाँच जना बुद्ध चोक र पाँच जनालाई नेपाल-भारत सीमा नाका बेलहीयामा यात्रुकै भेषमा परिचालन गरिएको थियाे ।

जिल्ला प्रशासन कार्यालयले ट्राफिक प्रहरी, ट्याक्सी व्यवसायी संघ, उपभोक्ता लगायतको सहभागितामा रुपन्देहीका विभिन्न स्थानमा जाने ट्याक्सीहरूको भाडा दर कायम गरेको थियो । दुई महिना पहिले ट्याक्सीको भाडादर कायम गरिए पनि कार्यान्वयन नभएको गुनासो आएपछि प्रशासनले विभिन्न स्थानमा कर्मचारी परिचालन गरेको हो ।

स्टिङ अपरेसनका क्रममा ट्याक्सी चालकहरूले पाँच सय रुपैयाँ लिनुपर्नेमा १५ सय रुपैयाँसम्म भाडा लिएकाे पाइएको प्रशासनले जनाएको छ ।

दुई महिनाअघि विभिन्न स्थानको लागि ट्याक्सीको भाडादर निर्धारण गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले भैरहवाको बुद्ध चोक, देवकोटा चोक, गौतमबुद्ध विमानस्थल, बेलहिया र बुटवल बसपार्कदेखि एक किलोमिटरदेखि २८ किलोमिटरसम्मको दूरीका लागि न्यूनतम तीन सय रुपैयाँदेखि एक हजार २ सय ६० रुपैयाँसम्म भाडा दर कायम गरेको हो ।

प्रशासनले स्टिङ अपरेसन चलाएको थाहा पाएपछि केही ट्याक्सी चालकले निर्धारण गरेको भन्दा कम भाडा लिएको पाइएको छ ।