धनगढी,२२ वैशाख ।
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई शनिबार पनि विश्वासको मत अनिश्चित भएको छ ।

एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं हिडेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्य अनिस्चित भएको हो ।

मुख्यमन्त्री सोडारीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेका थिए तर एमालेले सोडारीले हतार गरेको भन्दै विश्वासको शुक्रबार नै मत नदिने अडान लिएपछि सभामुख भीमबहादुर भण्डारीले शनिबार साँझ साढे ५ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित गरेका थिए ।

श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न काठमाडौ जान लागेको बताए ।

एमाले संसदीय दलका नेता र प्रमुख सचेतक काठमाडौं हिडेपछि शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन नसक्ने देखिएको छ ।

एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी ६ वैशाखमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्ष र स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

त्यसअघि सोडारीले २ वैशाखमा नेपाली कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए तर एमाले, माओवादीको समर्थनमा नाउपाका कैलाश चौधरीले पनि दाबी गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दोस्रो पटक आह्वान गरेपछि सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएर आफूले दाबी गरेका थिए ।