बुटवल,२० बैशाख ।
नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन, बुटवल उपमहानगर इकाई समिति आजदेखि आफ्नै भवनमा सरेको छ ।

एशाेसिएसनकाे नवनिर्मित कार्यालय भवनकाे आज एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

साे अवसरमा बाेल्दै नगर प्रमुख पाण्डेले बिबिध समस्याका बाबजुद समयमै भवन निर्माण सम्पन्न भएको भन्दै भवनको समुचित उपयोग गर्न आग्रह गरे ।

बुटवललाई देशकै सर्वाेत्कृठ नगरकाे रूपमा विकास गर्न जनप्रतिनिधि र कर्मचारी कम्मर कसेर लाग्नुपर्नेमा जाेड दिदै उनलेे बुटवलमा अन्यत्र भन्दा सहजरूपमा काम हुन्छ,सुशासन कायम छ भन्ने सन्देश दिनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले कर्मचारीहरूकाे हक हित र अधिकारकाे बिषयमा छलफल गर्न कर्मचारीकाे छुट्टै भवन हुदा सहज हुने बताइन् ।

नगरकाे समग्र विकासका लागि जनप्रतिनिधि र कर्मचारी बिच आपसी समझदारी जरुरी रहेको भन्दै उनलेे साेहि अनुसार काम गर्न आग्रह गरिन् ।

नेपाल नगरपालिका कर्मचारी एशाेसिएसन, बुटवल उपमहानगर इकाई समितिका अध्यक्ष अनिलकुमार माण्डब्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव रेश्मिराज घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियो ।