पाल्पा,२० बैशाख ।
पाल्पाका जंगलमा लागेको डढेलो बस्ती पस्दा २४ बढी घरगोठ नष्ट भएका छन् ।

पुर्बी पाल्पाको रामपुर नगरपालिका ४ र ५ का तथा पूर्वखोला गाउँपालिकाको हेक्लाङका जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि २४ बढी घरगोठ जलेर नष्ट भएको हो ।

आगलागीबाट लाखौंको धनमान जलेर नष्ट भएको छ ।

पूर्वखोला गाउपालिकाको हेक्लाङमा १६ र रामपुर नगरपालिकाको ४ र ५ मा ८ आठ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिएपछि पाल्पाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा १६ घरगोठ जलेर नष्ट भएको छ भने यहाँका आधा दर्जन बस्ती डढेलोको जोखिममा परेको वडाध्यक्ष धनबहादुर घर्ती मगरले जानकारी दिए ।

बुधबार दिउँसो जंगलमा सुरु भएको डढेलो बिहीबार बिहानसम्म पनि नियन्त्रणमा आएको छैन । आगलागीमा घरगोठसँगै पशु चौपाया मरेको बताइए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हेक्लाङका साविकको ६ वडाका जंगलमा डढेलो फैलिएको छ । लाकुरी, रेदी, बाँसडाँडा, खुमडाँडा, पनेर्दी, सालवास, पोखराथोकलगायतका जंगलमा भीषण डढेलो फैलिएको छ ।

पाल्पाकै रामपुर नगरपालिका–४, को समानसिङ, रेवतीपोखरासाथै रामपुर–५, को गैरागाउँ क्षेत्रको जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएपछि आठ घरगोठ जलेर नष्ट भएको छ । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायतका क्षेत्रमा भीषण डढेलो लागेको हो ।

हावाहुरीले जंगलको डढेलो बस्तीमा फैलिएपछि आठ घर तथा गोठ पूर्ण रुपमा जलिसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

जंगलमा लागेको डढेलो हावा चलेका कारण चारैतिर फैलिएपछि नियन्त्रणमा समस्या भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले बताए । डढेलो निभाउन नेपाली सेना, प्रहरीका साथै स्थानीय बासिन्दा लागिपरेका छन् ।