बुटवल,१७ चैत ।
बुटवल उपमहानगरपालिका वडा नं -१६ सेमलारमा रहेको साहुबाबा कृषि सहकारी संस्था लिमिटेड ले शेयर सदस्यहरूका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

साहुबाबा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुदर्शनदेव जाेसीकाे सभापतित्व र बुटवल उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष कृष्णप्रसाद पाैडेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शेयर सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गर्नुकासाथै सहकारीका माध्यमबाट शेयर सदस्यकाे जिवनस्तर माथि उठाउन सकिने सम्भावना बारे जानकारी गराइएको थियो ।
अभिमुखिकरण कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी शाखाका अधिकृत गुणाखर खनालले सहकारी शिक्षाकाे बारेमा प्रशिक्षण दिएका थिए ।

समुदाय स्तरमा खाेलिएका सहकारीहरूकाे अवस्था राम्रो रहेको भन्दै सहकारीका ७ वटा सिद्धान्तलाई पालना गरेर सञ्चालन भएका सहकारीहरूकाे अवस्था कहिल्यै खराब नहुने बताए ।

सहकारी सदस्यहरूकाे इमानदारीता,लेखा समितिका निस्पक्षतामा सहकारीको भविष्य निर्धारण हुने भन्दै उनलेे धेरैजसो लेखा समिति दह्रो नदेखिएको उल्लेख गरे ।

लुम्बिनी सिडस कम्पनीका प्रमुख सुवास कुमार उपाध्यायले नेपालमा सहकारी भावनाकाे विकास गर्न जरुरी रहेको भन्दै कृषिमा टुट्याएकाे बजेट ४०/५० प्रतिशत मात्रै खर्च हुनु बिडम्बनापुर्ण भएको टिप्पणी गरे ।

कृषिमा हाम्रो अनुसन्धान कमजोर रहेको भन्दै उनलेे सहकारीले उत्पादनमा ध्यान दिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा कृषि ज्ञानकेन्द्र रूपन्देहीका प्रमुख शिव अर्यालले कृषि उत्पादन बृद्वि गरी किसानकाे जिवनस्तर माथि उठाउन कृषि ज्ञान केन्द्रले विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउदै त्यसबाट लाभ लिन आग्रह गरे ।
साे अवसरमा बिउबिजन प्रयोगशाला भैरहवाका शालिग्राम गाैतम,शेयर सदस्य चुडामणिा पाैडेललगायतले आ आफ्नो भनाइ राखेको सहकारीका ब्यवस्थापक सम्झना ज्ञवालीले जानकारी दिइन् ।