बुटवल,१६ चैत ।
पश्चिम नेपाल बस ब्यवसायी प्रा लि चाैथाे बार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन आजदेखि बुटवलमा सुरु भएको छ ।

साधारणसभा तथा अधिवेशनकाे आज एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले उद्घाटन गरे ।

कार्यक्रमकाे उद्घाटन गर्दै पुर्व मुख्यमन्त्री गिरीले प्रदेशबाट समाधान हुने यातायात ब्यवसायीका समस्या समाधान गर्ने कुरामा आफुले सक्दाे सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

राजनीतिक अस्थिरताका कारण साेचेनस्ताे काम गर्न नसकिएको स्विकार गर्दै उनलेे बिगतका कमि कमजोरीबाट पाठ सिकेर कमि कमजोरी सच्याउदै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

संघीय लाेकतान्त्रिक गणतन्त्रको विकल्प अन्य कुनै ब्यवस्था हुन नसक्ने भन्दै पुर्व मुख्यमन्त्री गिरीले लामो अनुभव संगालेका राजनीतिक दलहरूले गर्न नसकेको काम नयाँ पार्टी र जस्का बिरूद्व आन्दोलन गरेर नयाँ ब्यवस्था ल्यायाै त्यहि शक्तिले गर्न सक्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा बिभिन्न यातायात ब्यवसायी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले संघ संस्था दर्ता ऐन अनुसार दर्ता भएका ब्यवसायी संस्थालाई कम्पनीमा लैजाने तत्कालीन सरकारकाे निर्णयले दलाल पुँजिपतिलाई मात्रै फाइदा पुगेको र स्वदेशी लगानीकर्ता मारमा परेको गुनासो गरे ।

संघ संस्था दर्ता ऐन अनुसार दर्ता भएका यातायात ब्यवसायी संस्थालाई पुनः साेहि ऐन अनुसार नविकरण गर्ने ब्यवस्था मिलाउन माग गर्दै उनिहरूले त्यसाे नभए ससक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय बहादुर स्वारले यातायात क्षेत्रका समस्या समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गर्दै उक्त प्रतिवेदन कार्यान्वयन नभए त्यसबाट उत्पन्न परिणाम राज्यले थेग्न नसक्ने चेतावनी दिए ।

उनले यातायात ब्यवसायीका समस्या प्रति राज्य गम्भीर नभएको भन्दै उनलेे सरकारको यस्तै रबैया रहिरहे अब सह्य नहुने बताए ।
मिटर ब्याजी भनेकै क श्रेणीका बैंक हुन भन्दै अध्यक्ष स्वारले क श्रेणीका बैंकबाटै यातायात ब्यवसायी थप मारमा परेको बताए ।

उनलेे यातायात ब्यवसायीका समितिलाई कम्पनीमा लैजान केही यातायात ब्यवसायीहरूकाे पनि हात रहेको दाबी गरे ।

सार्वजनिक यातायात ब्यवसायी महासंघका अध्यक्ष डाेलनाथ खनालले यातायात क्षेत्रका समस्या समाधानमा प्रदेश सरकारकाे भुमिका महत्त्वपूर्ण रहेको बताउदै बागमती र गण्डकी प्रदेशले केही गरे पनि लुम्बिनी लगायत अन्य प्रदेशले यातायातको क्षेत्रमा केही नगरेकाे गुनासो गरे ।

महासंघका पुर्व अध्यक्ष चाेपनारायण श्रेष्ठले यातायात ब्यवसायीका समस्या समाधानका लागि ब्यवसायीक संस्थाहरूकाे एकता जरुरी रहेको भन्दै ब्यवसायीक हक अधिकारका लागि आन्दोलनको विकल्प नभएको बताए ।

पश्चिम नेपाल बस ब्यवसायी प्रा लि का अध्यक्ष दधिराम खरेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे,पाल्पाको तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ,नेकपा एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी,नेकपा माओवादी केन्द्र रूपन्देही अध्यक्ष नारायण बहादुर जिसी,नेपाली कांग्रेसका क्षेत्रीय सभापति प्रजापाल गिरी,नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव तथा स्याङ्जा गण्डकी यातायात ब्यवसायी प्रा लि का अध्यक्ष भानुभक्त बराल,नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमाल,नेपाल यातायात ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा सुन्दर सुदुर पश्चिम यातायात ब्यवसायी प्रा लि का अध्यक्ष पदम प्रसाद सापकोटा,पृथ्वी राजमार्ग यातायात सञ्चालन कम्पनी प्रा लिका अध्यक्ष याेगेन्द्र बहादुर केसी,बागेश्वरी यातायात ब्यवसायी प्रा लि काेहलपुरका अध्यक्ष मन प्रसाद आचार्य,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल,यातायात मजदुर तथा ब्यवसायी भलाई काेषका अध्यक्ष दिनेश फुल्लेल,पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेखरेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा यातायात ब्यवसायीका समाचार सम्प्रेषण गरेको भन्दै नेपाल टेलिभिजनका सम्वाददाता हरिश ढकाललाई सम्मान गरिएको थियो ।

दुई दिनसम्म चल्ने साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने कम्पनीका महासचिव रामचन्द्र भुसालले जानकारी दिए ।

कम्पनीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष दधिराम खरेल र सञ्चालक पदम गाहा छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।