पाल्पा,१५ चैत ।
पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीकी १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय सागर नेपाली भन्ने देवलाल सार्की रहेका छन् ।
उनले मंगलबार मध्यान्ह १२ बजेकाे समयमा पद्माकाे हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
पद्मा घरभन्दा केही परको धारामा नुहाउन गएकी थिइन् । देवलाल सोही धारामा पुगेकाे र उनीहरू बीच सामान्य विवाद भएको थियो । के बारेमा विवाद भएको भन्नेबारे खुलिसकेको छैन ।
विवादपछि डोकोमा धोएका कपडा बोकेर घर फर्किँदै गरेकी पद्मालाई पछाडिबाट धारिलो हतियार प्रहार गर्दा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले बताए । घरभन्दा केही पर खुलखुले गैरामा उनले आक्रमण गरेकाे प्रहरीले जनाएको छ ।
देवलालको घर धारो नजिकै पर्छ । यहाँ देवलालको एक्लो घर रहेको छ । घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । आज थप प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । उनको घरबाट रगत लतपतिएको कपडा र खुर्पा फेला पर्नुकासाथै गोठबाट मृतकको मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
मृतक पद्माका बुवा दलबहादुर सुनारले किटानी जाहेरी दिएका छन् । शुक्रबार मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रनाउ श्रेष्ठले बताए ।
मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको गोरेटो बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको उनले बताए ।
उनको हातका औंला छिनिएको छ । हातका पाखुरा, घाँटीमा काटिएको अवस्था छ । शव पोष्टमार्टमका लागि रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए ।








