बुटवल,१५ चैत ।
लुम्बिनी विकास कोषको हाताभित्र बनाइएको विहार–गुम्बामा पर्यटक राखेको विरोधमा लुम्बिनीका होटेल व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
लुम्बिनी होटल संघ नेपालको नेतृत्वमा व्यवसायीहरुले गुरुयोजना क्षेत्रभित्रका विहार तथा गुम्बाहरुमा पर्यटक राख्न अविलम्ब रोक लगाउन माग गर्दै बिहीबारदेखि लुम्बिनी विकास कोषविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
लुम्बिनी विकास कोष हाताका गुम्बामा दिनमा दुई हजारभन्दा बढी पर्यटक अटाउन सक्ने होटल व्यवसायीहरु बताउँछन् ।
संघले ‘धर्मको नाममा ब्यापार नगर’, ‘विहार–गुम्बालाई होटल नबनाऊ’, ‘गरी खान देऊ’ लगायतका नारासहित आन्दोलन थालेको अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले बताए ।
माग पूरा नभएसम्म लुम्बिनी विकास कोषको कार्यालय प्रांगणमा शान्तिपूर्ण धर्नासहितका विभिन्न कार्यक्रम गर्ने, तीन दिनसम्म दिनको २ घण्टा शान्तिपूर्ण धर्ना र त्यसपछि समय बढाउँदै लैजाने, लुम्बिनीमा उपलब्ध हुन सक्ने बिद्धत वर्गहरुलाई सम्मिलित गरी प्रा. केन्जो टाँगेले तयार गरेको गुरुयोजनामाथि छलफल, विमर्श गरी निचोड सम्बन्धित मन्त्रालयहरुमा बुझाउने ज्ञवालीले बताए । ७ दिनसम्म माग सुनुजाइ नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले बताए ।
‘विहार र गुम्बाका नाममा तारे होटेल जस्तै सुविधायुक्त कोठाहरु बनाएर पर्यटक राख्दा करोडौं लगानी गरेका व्यवसायीहरु पलायन हुने अवस्था आयो’, अध्यक्ष ज्ञवालीले भने, ‘विहार र गुम्बा भनिने ठाउँहरु बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमुना नभई व्यापारको थलो बनेकाले रोक्न पटक पटक अनुरोध गर्दा पनि बेवास्ता भएपछि आन्दोलनमा उत्रिन बाध्य भयौं ।’
संघले समस्या समाधानको माग गर्दै गत फागुन २९ गते ७ दिनको समय दिएर लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाएको थियो ।व्यवसायीको मागपछि कोषले विहार र गुम्बाहरुलाई व्यवसायिक गतिविधि नगर्न सचेत गराएपनि व्यवहारमा कार्यान्वयन नभएको संघका महासचिव पुरुषोत्तम अर्यालले बताए ।
‘विहार र गुम्बाहरुकै कारण व्यवसाय राम्रो नभएपछि लुम्बिनी वरपर खोलिएको १० भन्दा बढी होटलहरु स्थायी रुपमा बन्द भए’, महासचिव अर्यालले भने, ‘यो वर्ष थप केही होटलहरु बन्द हुने अवस्थामा पुगेका छन् ।’
लुम्बिनी होटल संघका अनुसार लुम्बिनीको पर्यटन व्यवसायमा अहिलेसम्म निजी क्षेत्रको १५ अर्ब रुपैयाँ लगानी भएको छ । होटल व्यवसायमा मात्र ७ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ ।
लुम्बिनीमा बनेका गौतमी भिक्षुणी विहारले दैनिक एक सय ५० पाहुना राख्न मिल्ने गरी भवन बनाएको छ । यस्तै, गोल्डेन टेम्पल म्यानमारले दुई सय ५०, कम्बोडियाको विहारले दुई सय, महाबोधि सोसाइटीले एक सय २०, थाई विहारले तीन सय, कोरियन विहारले पनि तीन सय, बज्रयान विहारले दुई सयजना पाहुना एकैपटक राख्न सक्ने क्षमता रहेको बताइएको छ ।
चाइना विहारमा दुई सय ५०, क्यानेडियन विहारमा एक सय २०, सिंगापुरको विहारमा सयजना पर्यटक राख्ने क्षमता छ । निर्माणाधीन अवस्थामा रहेका कर्मा साम्तेङ विहार र क्वालाम्पुर विहारले धेरै कोठा निर्माण गरिरहेका छन् । जापनिज स्तूपा, तारा फाउन्डेसन (जर्मन), फ्रान्सको विहार, मनाङ समाज स्तूपालगायतका गुम्बाले भने पर्यटक नराख्ने गरेको हाेटल ब्यवसायीकाे भनाइ छ ।
विकास कोषको विनियमावलीमा सम्बन्धित देशले आफैंले डिजाइन गरेको गुम्बा–विहार निर्माण र भिक्षुहरूको सहयोगी बस्नका लागि आवश्यक भवन बनाउन सक्ने व्यवस्था छ । तर, गुम्बा सञ्चालकले विनियमाली र कोषसँगको सम्झौतालाई बेवास्ता गर्दै मलेसियाले एट्याच बाथरुमसहित एक सय ५० कोठाको ६ तले भवन निर्माण गरिरहेको छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले गुम्बामा पर्यटक राख्ने विषयमा व्यवसायीबाट धेरै गुनासो आएका कारण सरोकारवालाबीच छलफल गराएर निकास निकाल्ने बताए ।
लुम्बिनी गुरुयोजना क्षेत्रभित्र विभिन्न राष्ट्र र बौद्ध समुदायलाई विहार–गुम्बा निर्माण गर्न ९९ वर्षका लागि ४२ प्लट उपलब्ध गराइएको छ ।








