बुटवल,१४ चैत ।
बुटवलमा स्थानीय उद्यमशिलता विकासमा काम गर्ने ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन हुने भएको छ । स्थानीय उद्यमशिलतालाई सुदृढ बनाउनको लागि यो परियोजना सञ्चालन गर्न लागिएको संघले जनाएको छ । परियोजना सञ्चालनको लागि बुटवल उद्योग वाणिज्य संघ र इम्प्याक्ट हव काठमाण्डौं विच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

उक्त समझदारी पत्रमा संघका अध्यक्ष हरिप्रसाद अर्याल र परियोजनाको तर्फबाट इम्प्याक्ट हव काठमाण्डौंकी डेपुटी डाईरेक्टर आरती श्रेष्ठले हस्ताक्षर गरेका छन् । स्थानीय उद्यमशिलतालाई सदृढ बनाउनको लागि ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन गर्न लागिएको र यो परियोजनाले ३ वर्षसम्म इन्कुभेटर कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

इम्प्याक्ट हव काठमाण्डौंको यो ‘रुट्स अफ सर्कुलारिटी’ परियोजना सञ्चालन गर्नको लागि संघमा विजनेश इन्कुवेटर सेन्टर स्थापना गरिने छ । युरोपियन कमिसनले सहयोग तथा इम्प्याक्ट हव एशोसियशन, इम्प्याक्ट हव काठमाण्डौं र वाईल्डलाईफ कन्जरभेसन नेपालको सहकार्यमा सञ्चालित यो परियोजना मार्फत नेपालमा हरित अर्थतन्त्रको प्रणाली विस्तार गर्ने लक्ष्य राखिएको छ ।

परियोजना सञ्चालन हुने अवधिमा नेपाली नीतिहरुमा आधारभूत परिवर्तन गर्ने, यसमा नवउद्यमीलाई सहभागि गराउने र सर्कुलर अर्थतन्त्रको सिद्धान्त आत्मसात गर्न उद्यमशिल परिदृश्यको विकास गर्ने प्राथमिक लक्ष्य राखिएको छ । यो परियोजना लुम्बिनी र वागमती प्रदेशमा सञ्चालन हुनेछ ।

यो परियोजनाले सुक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्तिकरण गर्ने, सर्कुलर अर्थतन्त्रको नीति विकासको लागि शैक्षिक संस्थाहरुसंग सहकार्य गर्ने तथा मल्टि स्टेकहोल्डरसंग मैत्रीपूर्ण सम्बन्धलाई प्रवद्र्धन गर्न नेपाल सर्कुलारिटी एलाईन्स स्थापना गर्ने कार्यक्रम रहेको छ । परियोजना सञ्चालन भएपछि यस क्षेत्रको उद्यमशिलता विकासमा उल्लेखनीय सहयोग पुग्ने संघका अध्यक्ष हरिप्रसाद अर्यालले विश्वास व्यक्त गरे ।

नेपाली हरित अर्थनीतिमा परिवर्तन ल्याउन प्रयास गर्ने, त्यसमा नागरिकलाई संलग्न गराउने र उद्यमशिल प्रणालीमा सर्कुलर अर्थतन्त्रको अवधारणा तथा सिद्धान्तलाई समावेश गरी सशक्तिकरण गर्ने यसको मुख्य उद्देश्य रहेको इम्प्याक्ट हवकी डेपुटी डाईरेक्टर आरती श्रेष्ठले बताइन् ।