बुटवल,११ चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । रंगहरुको पर्व होलीको अवसरमा आईतबार संघकाे कार्यालय परिसरमा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

त्यस अवसरमा शुभकामना व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई गुञ्जायस बनाउनको लागि योजना ल्याउन व्यवसायिक संघसंस्थाहरुलाई आग्रह गरे । संघसंस्थाहरुको सुझाव सल्लाहका आधारमा नगरपालिकाले व्यवसायिक सटरहरुमा भाडादर घटाएको बताउँदै अरु के के गर्न सकिन्छ योजना बनाउन र व्यवसायिक संघसंस्थाहरुले दिएको सुझाव र सल्लाहका आधारमा नगरपालिकाले योजना निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘यहाँका व्यवसायिक संघसंस्थाहरुले दिएका सुझाव सल्लाह अनुसार हामी काम गर्न तयार छौं ।’ उनले भने–‘समस्या मात्रै होईन, समस्याको समाधान पनि कसरी हुनसक्छ, तपाईहरुले दिनुभएको सुझाव अनुसार हामी अगाडि बढ्छौं ।’
कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किदो व्यापार व्यवसायलाई चलायमान बनाउन र आर्थिक कृयाकलाप बढाउन सबैले आफ्नो आफ्नो ठाँउबाट सोंच्ने बेला आएको बताए । उनले व्यापार व्यवसाय विस्थापित भएपछि त्यसलाई फेरी फर्काउन नसकिने बताउँदै विस्थापित नहुँदै कसरी जोगाउन सकिन्छ भन्नेमा सबैको ध्यान जान जरुरी रहेको भनाई राखे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष शंकरप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए । त्यस अवसरमा सबैले आपसमा रंग साटासाट परेर शुभकामना आदानप्रदान गरिएको थियो ।








