दाङ,१० चैत्र ।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाली
कांग्रेसलाई सत्तामा जान कुनै हतार नभएको बताएका छन्।
रिपोर्टर्स क्लब दाङले दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राजनीतिमा कहिले सत्ता र कहिले विपक्षमा हुनु स्वभाविक भएको भन्दै कांग्रेस पार्टी प्रमुख प्रतिपक्ष दलका रुपमा संसद्मा प्रभावकारी र रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।
सत्तामा जानको निम्ति अप्राकृतिक प्रपञ्च गर्न जरुरी नभएको समेत उनको भनाइ थियो। उनले भने,‘हामीले कसैलाई अस्वाभाविक रुपमा कुर्सी दिएर वा गतिविधिहरू गरेर सत्तामा जान कोसिस गर्ने छैनौँ, गरेका पनि छैनौँ । हामीलाई परिस्थितिले नै सत्तामा लैजान्छ। यो गठबन्धन आफैँ ढल्ने र अर्को बन्ने गठबन्धनमा कांग्रेस सत्तामा जान्छ। त्यसैले हामीलाई हतार गर्न कुनै आवश्यक छैन, हामी त्यो समय पर्खेर बस्नुपर्छ।’
उनलेे संघ र प्रदेशमा प्रमुख प्रतिपक्षको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ, भनेर केन्द्रित भएर हामी अगाडि बढ्ने तयारीमा रहेको बताए ।
माओवादीको बेइमानीका कारण तत्कालीन गठबन्धन तोडेको बताउदै उनले प्रधानमन्त्री प्रचण्डको बेइमानीका कारण गठबन्धन तोडिएकोमा आफूहरूको रोदन नभई वास्तविकता भएको उल्लेख गरे ।
नेता पौडेलले कांग्रेस पार्टी पहिलो हुँदा पनि कांग्रेसको भन्दा आधा सिट भएको माओवादी पार्टीको नेतृत्वलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नु परेकाे बताए ।
प्रधानमन्त्री प्रचण्डले पहिलो पार्टीको समर्थन लिन नचाहेर कांग्रेससँगको गठबन्धन तोडेर अप्राकृतिक काम गरेको उनको भनाइ थियो ।
सबैभन्दा ठूलो पार्टीले हामीलाई कसैले निकालिदियो, भनेर रोदन गर्न जरुरी नभएको पनि उल्लेख गरे गठबन्धनमा नेतृत्व गर्नेको कामप्रति चित्त नबुझाएर गठबन्धनमा आवद्धहरूले गठबन्धन तोड्ने भएयता पनि नेतृत्व गर्नेले नै आफैँ
गठबन्धन तोडेको आरोप लगाए ।
उनले भने, ‘गठबन्धनमा पनि थोरै सिट भएको नेता प्रधानमन्त्री प्रचण्डले धेरै सिट भएको पहिलो पार्टीलाई गठबन्धनबाट निकालिदिनुभयो ।’
तत्कालीन गठनबन्धनलाई ५ वर्षसम्म निरन्तरता दिने कुरा भएको भन्दै उनले कांग्रेसको महासमिति बैठकमा दस्ताबेजमै साे कुरा उल्लेख गरेको बताए ।
निर्वाचनमा जुन गठबन्धन बनाएको थियौँ, त्यही गठबन्धन सँगसँगै सरकारमा रहने र समझदारी, इमानदारपूर्वक चल्ने भनेर नेपाली कांग्रेसले भनेको समेत उनले बताए ।
यस्तै, उनले निर्वाचनमा कसरी जाने भन्ने कुरा पार्टीमा भर पर्ने कुरा भएको भन्दै निर्वाचनमा गठबन्धन गर्ने कुरा पार्टीमा एकमत नभएको पनि जिकिर गरे । उनले भने, ‘निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा पार्टीभित्र निकै टीकाटिप्पणी भएको
थियो । आम साथीहरूले स्वीकार नगरेको स्थिति बनेको थियो। खासगरी माओवादीको सशस्त्र युद्धमा नेपाली कांग्रेसमाथि भएको प्रहार र निशानाको विषयमा पार्टीमा पेचिलो र गम्भीर ढंगबाट उठेको थियो ।’
माओवादीलाई नै नेतृत्व लिनेगरी निर्वाचनमा आफ्नो चुनाव चिन्हमा मत नहालेर माओवादीको चुनाव चिन्हमा मत हाल्ने कुरा हाम्रा मतदाताहरूले स्वीकारको विषय नभएको कुरा गएको निर्वाचनले पुष्टि गरेको उनको भनाइ थियो ।
यस्तै, उनले सरकार सञ्चालनको सन्दर्भमा संसद्भित्र गठबन्धन गर्ने र त्यसैका आधारमा सरकार बनाउने भनेर आफूहरूले स्वीकार गरेर जनतालाई स्थिरताको निम्ति गठबन्धन गरेको भनेको समेत बताए ।
यस्तै, उनले गृहमन्त्री रवि लामिछाने माथि छानविन हुनु पर्नेमा अहिले त्यो मन्त्रालय उनको नेतृत्वमा हुँदा छानविन राम्रोसँग हुनेमा आफूहरूलाई शंका लागेको बताए ।
उनीमाथि प्रश्न उठिरहेको अवस्थामा छानविन निष्पक्षता, स्वतन्त्र हुने सुनिश्चिताको माग कांग्रेस गर्दै आइरहेको उनको धारण थियो । उनले भने,‘प्रधानमन्त्रीले गठबन्धन तोड्दै गर्दा कसैमाथि छानविन भएको छ, भने हामी त्यसलाई हामीले मन्त्रिमण्डलमा ल्याउँदैनौँ, भन्नुभएको थियो। तर, अहिले प्रश्न उठिरहेको व्यक्तिलाई त्यही मन्त्रालयको जिम्मेवारी दिँदा छानविन निष्पक्षता
हुँदैन । त्यही कारणले अहिले हामीले प्रश्न उठाएका हौँ ।’
यस्तै कांग्रेसले गृहमन्त्रीको राजीनामा दिनुपर्छ, भन्ने कुरा नभएको भन्दै राजीनामा दिने कि नदिने ब्यक्तिको नैतिकतासँग जोडिएको विषय भएको हुँदा छानविन प्रभावित हुनुहुँदैन भन्न खोजेको उनको भनाइ थियो ।
राज्यको संरचनाले शक्तिशाली व्यक्तिमाथि छानविन गर्न नसक्ने भएकाले त्यसको लागि संसदीय छानविन आयोग बनाउनु पर्छ, भनेर माग गरेको समेत उनले बताए ।
रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।








