परासी,१० चैत ।
पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन केन्द्र स्थापना गरिएको छ ।

सुनवल नगरपालिका–४ स्थित रमावपुर माध्यमिक विद्यालय परिसरमा वर्षामापन उपकरण जडान गरि सञ्चालनमा ल्याइएको हो ।

जल तथा मौसम विज्ञान कार्यालय रुपन्देहीले केन्द्रको स्थापना गरेको हो । पश्चिम नवलपरासी जिल्ला बाढी, पहिरोको जोखिमको जिल्ला भएकाले उपकरण जडान पछि कति वर्षा भयो भन्ने मापन गरेर जोखिमको आकलन गर्न सहयोग पुग्ने जल तथा मौसम विज्ञान कार्यालय रुपन्देहीकाका प्रमुख वरुण पौडेलले जानकारी दिए ।

जिल्लामा यसअघि बर्दघाट, त्रिवेणी र परासीमा वर्षा मापन केन्द्र सञ्चालनमा थिए । केन्द्र सञ्चालनमा आएपछि यो क्षेत्रमा हुने वर्षाको औसत अनुमान, मौसमको प्रकृति र तटीय क्षेत्रमा हुन सक्ने डुबान कटानको विषयमा पूर्वतयारी गर्न सहज हुने लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले बताए । केन्द्रको स्थापनासँगै विद्यार्थीहरूलाई जलवायु परिवर्तनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।