बुटवल,५ चैत ।
सुन तस्करी काण्डमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार बिहान कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । कपिलवस्तुबाट पक्राउ परेका महरालाई भर्खरै काठमाडौं पठाइएको रुपन्देहीका एक प्रहरी अधिकृतले जानकारी दिए ।

पूर्वसभामुख समेत रहेका महरा राेल्पा जाँदै गरेकाे अवस्थामा पक्राउ परेका हुन् । उनिमनथी इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप छ । ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई मु‍द्दा चलाउन सिफारिस गरेको थियो ।

गत बिहीबार जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा लगाइएको छ ।

यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो । उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।

महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबु-छोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएकाे प्रहरीको दाबी छ ।