नवलपरासी, ४ चैत ।
भ्रष्टाचार बिरूद्व ‘कालोमोसो अभियान’ संचालन गर्दै आएको मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन, नेपालले पाल्हीनन्दन गाउँपालिकालाई ७ बुदें ज्ञापन पत्र बुझाएको छ ।
आइतवार संगठनका प्रदेश सदस्य तथा जिल्ला संयोजक तरुण श्रीस मगरको नेतृत्वमा गाउँपालिकाका उपाध्यक्ष फातुमा खातुन अंन्सारी (सकिना) लाई ज्ञापन पत्र बुझाएको संगठनले जनाएको छ ।
भष्ट्रचारीलाई कारवाही गरेको भन्दै ‘कालोमोसो’ दल्ने उक्त संगठनले भष्ट्रचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सरावल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापन पत्रमा हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने माग समेत समाबेश गरिएको छ ।
साथै, गाउँपालिकाले संचालन गरेका बिभिन्न आयोजना र मातहतका कार्यालयमा खरिद गरिएका बिभिन्न सामानमा कमिसनखोरी प्रबृतिहरु हावी भएको भन्दै खरिद ऐनलाई अक्षरशः पालना गर्न माग गरिएको छ । त्यस्तै गाउँपालिकामा पर्यटनको निकै सम्भावना रहेको भन्दै त्यसका लागि पर्यटन क्षेत्रको एकीकृत गुरुयोजना बनाउन संगठनले माग गरेको संयोजक तरुण श्रीस मगरले जानकारी दिए ।
त्यसैगरी विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने, युवा तथा खेलकुदको क्षेत्रमा लगानी बृद्धि गर्नुपर्ने लगायतमा माग रहेको छ ।
राष्ट्रिय, जनतन्त्र र जनजिबिकासंग सम्बन्धित माग पत्र लिएर संगठनका जिल्ला संयोजक तरुण श्रीस, संगठनका कार्यालय सदस्य आकाश गौतम सहितको टोली पाल्हीनन्दन गाउँपालिकाको कार्यालय बेलाशपुर पुगेको थियो । टोलीमा पार्टीका केन्द्रीय सदस्य एंव जिल्ला संयोजक रवि पाण्डेयकाे समेत सहभागीता रहेको थियो ।
सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, पर्यटनलगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको छ । टोलीलाई पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अंन्सारी(सकिना)ले धेरै मागहरु पालिकाको नीति कार्यक्रममा समाबेश भएको भन्दै संगठनका मागलाई कार्यपालिकाको बैठकमा लैजाने प्रतिवद्वता जनाए ।








