पाल्पा,४ चैत ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले अबको युग कुनै जाती, लिङ्ग र भुगोल विशेषकाे नभई श्रम गर्ने श्रमिक तथा मजदुरहरुको भएको बताएका छन् ।
आइतबार नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति पाल्पाको अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति श्रेष्ठले उक्त कुरा बताएका हुन् ।
खाली पेट राजनीति एवं समाजसेवा दुबै अर्थहीन रहेको बताउँदै
उनलेे सीप सँगै श्रम अपरिहार्य रहेको बताए ।
श्रमहरु एक अर्काका परिपुरक रहेको बताउँदै सभापति श्रेष्ठले जुनसुकै श्रमको उत्तिकै महत्त्व रहेकाले श्रम गर्न नहिच्किचाउन अनुरोध समेत गरे ।
श्रमिकका हकहित र समस्याको सम्बोधनका निमित्त संगठन आवश्यक रहेको बताउँदै उनलेे नेपाल यातायात मजदुर संघको नवगठित समितिले आफ्ना समस्याहरू र समाधानका उपायहरूको अध्ययन सहित प्रस्तुत हुन र उक्त माग सम्बोधनका लागि नेपाली कांग्रेस पाल्पाले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
केही राजनीतिक दलहरुले मिसन ०८४ भन्दै हिडिरहेका बेला उनले भने काँग्रेसको मिसन ०८४ नभएर जनताको जिवनस्तरमा सुधार ल्याउनु रहेको स्पष्ट पारे ।
काँग्रेसको मिसन ०८४ नभई झुपडीका घरहरुबाट गरिबी हटाउनुु रहेको बताए । उनले भने ‘चुनावलाई लक्षित गर्दै केही राजनीतिक दलहरु मिसन ०८४ को कुरा गरिरहनु भएको छ । तर काँग्रेसले भने कसरी झुपडीबाट गरिबी हटाउन सकिन्छ भनेर लागि रहेको छ ।’
काँग्रेसको एक मात्र मिसन भनेको विपन्न नागरिकका घरको चुलो सहजरूपमा जलाउने ब्यवस्था गर्नु रहेको भन्दै सभापति श्रेष्ठले भने-‘हामीले ठूला कुरा गर्दैनौं, जब सम्म आम नागरिक सम्पन्न हुँदैनन् तबसम्म न मुलुक बन्छ नत हाम्रो राजनीतिले सार्थकता प्राप्त गर्दछ । त्यसैले हामी आमनागरिकलाई उत्पादन र रोजगारीसँग जोडेर गरिबीको अन्त्य गर्ने कार्यमा जाेड दिएका छाैं ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघका केन्द्रीय महासचिव जगन्नाथ गाैतमले नेपाल यातायात मजदुर संघले यातायात मजदुरहरूकाे हक हित र अधिकारका लागि काम गर्दै आएकाे बताए । आगामी दिनमा नवनिर्वाचित समितिले यातायात मजदुरहरूलाई एकताबद्व गरि आफ्ना सांगठनिक गतिविधिहरूलाई चलाएमान बनाउन आग्रह गरे ।
नेपाली कांग्रेस पाल्पाका सचिव सन्तोष कुमार थापा मगरले देश निर्माणमा सबैभन्दा ठुलाे भुमिका मजदुरकाे रहेको बताए । उनलेे संघमा आवद्व भएका राष्ट्रियता,लाेकतन्त्र र समाजवादकाे सिद्धान्तलाई आत्मसाथ गर्ने गरि संगठित मजदुरहरूले आफ्नाे पेशा र व्यवसायलाई सम्मानित र मर्यादित बनाई अगाडि बढ्नुपर्नेमा जाेड दिए ।
उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य माधव नेपालले
संघ मार्फत मजदुरहरूलाई संगठित गर्न नँया प्रयास गरेको बताए ।
अहिले देशमा मजदुर व्यवासयीहरू सुरक्षित हुन नसकेको बताउदै उनलेे सरकारले यस तर्फ ध्यान दिन नसकेको बताए ।
उनलेे आगामी दिनमा संघले मजदुरहरूकाे दुख र सुखमा साथ र सहयोग दिई एकताबद्ध भइ अगाडि बढ्न आग्रह गरे । काेभिड पछि यातायात श्रमिकहरू समस्यामा परेकोले सरकारले यस तर्फ गम्भीर ध्यान दिनुपर्नेमा जाेड दिए ।
नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति निलकण्ठ देवकोटाले मजदुरकाे हक हित र अधिकारकाे सुनिश्चितताकाे लागि ट्रेड युनियन कांग्रेस पाल्पा सधैं तयार रहेको बताए ।
नेपाली कांग्रेसका जिल्ला सदस्य माधव थापाले यातायात मजदुरहरूकाे पेशालाई मर्यादित बनाउन,हक हित र अधिकारकाे लागि एकताबद्ध बनाउन सम्मेलनले सहयोग गर्ने बताए ।
कार्यक्रममा श्रीनगर यातायात व्यवसायी समितिका अध्यक्ष डिल बहादुर ढुंगाना,नेपाल दलित संघका जिल्ला उपाध्यक्ष दिनेश गान्धर्व लगाएतले मन्तव्य राखेका थिए ।
संघका केन्द्रीय उपाध्यक्ष भेष बहादुर खड्काकाे अध्यक्षतामा भएको कार्यक्रम संघका केन्द्रीय सदस्य मुक्ति राम खरेलकाे सञ्चालनमा सम्पन्न भएको हो ।
नेपाल यातायात मजदुर संघ पाल्पाकाे अध्यक्षमा ढुंगाना
नेपाल यातायात मजदुर संघ पाल्पाकाे अध्यक्षमा बिष्णु ढुंगाना सर्वसम्मतिले अध्यक्ष पदमा चयन भएका छन । जस्काे उपाध्यक्षमा कुमार केसी,मनिसा कार्की पराजुली,सचिवमा राम प्रसाद भट्टराई,काेषाध्यक्षमा बाबुराम अधिकारी,सदस्यहरूमा पदम थापा,सुन्दर शाक्य,धुर्व खड्का,नर बहादुर नेपाली,प्रकाश कार्की चयन भएका छन ।








