बुटवल,४ चैत ।
सहकारी ठगी आरोपमा पक्राउ परेका पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छाेरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार काठमाडौबाट परेका पुनलाई आइतबार रुपन्देही जिल्ला अदालतले उनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरीले शुक्रबार राति नै बुटवल ल्याएको थियो ।

बुटवलको सुप्रिम सहकारीको करिब ७८ करोड अपचलन भएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पक्राउ गरिसकेको छ । उनीहरुको बयान र बचतकर्ताकाे उजुरीको आधारमा पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख पण्डितले बताए ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको आराेप छ ।