बाँके,४ चैत ।
बाँकेको ढकेरीमा जंगली जनावरको आक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानकाे दार्मा गाउँपालिका वडा नम्बर १ घर भई ढकेरीस्थित आफन्त कहाँ आएका ७१ वर्षिय नगेन्द्रप्रसाद शर्मा रहेका छन् । उनको पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीस्थित जंगलमा जंगली जनावरको आक्रमणबाट मृत्यु भएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

शर्माको शव ढकेरी र चप्परगौडीबीचको जंगलमा आइतबार बिहान करिव साढे ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक शर्मा ढकेरीस्थित आफन्तको घरबाट शनिबार बेलुका कोहलपुर जान भनि निस्केका थिए ।

घटनास्थल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । जङ्गली जनवरको आक्रमण भएको देखिएपनि कुन जनावरको आक्रमण हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

घटनाको निकुन्ज प्रशासन र प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।