बाँके,३ चैत ।
बाँकेकाे नेपालगञ्जमा एक घरबाट नौ लाख रुपैया चोरेर भागेका ३ जना चोरहरु पक्राउ परेका छन् ।
उनिहरू चोरी गरेको १२ घण्टा नपुग्दै पक्राउ परेका हुन् ।
नेपालगन्ज १, कुर्मीटोल स्थित गोविन्द बर्माको घरबाट नौ लाख रुपैया चोरेर भागेका ३ जनालाई चोरी गरेकै राती पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जुम्ला स्थायी घर भइ नेपालगन्ज १ को जुम्ली टोलमा अस्थायी बसोबास गर्दै आएका दीपक बस्याल, प्रकाश खड्का र केसे सार्की रहेका छन् । उनीहरुलाई राँझास्थित एक होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले सात लाख ८३ हजार ३ सय ७० रुपैया बरामद गरेको छ । पक्राउ परेकाहरुबाट चार सय मिलिग्राम ब्राउनसुगरसमेत बरामद भएको प्रहरी नायव उपरीक्षक डाँगीले बताए ।
बैंकबाट रकम निकालेर घर पुगेका बर्माले रकम घरमा राखेर निस्के लगत्तै उनीहरुले रकम चोरी गरेको प्रहरीले जनाएको छ ।
उनिहरूले बैंकबाटै बर्माकाे पिछा गर्दै गएकाे र बर्मा घरबाट निस्किएर अन्यत्र गएको अवस्थामा रकम चाेरी गरेको प्रहरीको दाबी छ ।








