बुटवल,१४ चैत ।
भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले लालपुर्जा लिँदा तिर्नु पर्ने शुल्क अत्याधिक भएकाले घटाउनुको विकल्प नभएको सरोकारवालाहरुले बताएका छन् ।

लुम्बिनी प्रदेश संवाद समूहले मंगलबार बुटवलमा आयोजना गरेको भूमि व्यवस्थापनमा नीतिगत चुनौति र समन्वय विषयक संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले जग्गा नापजाँच गर्न भूमिहीन दलित, सुकुम्बावासी र अव्यवस्थित बसोबासीहरुले ताकेता गर्ने गरेता पनि लालपुर्जा लिँदा लाग्ने शुल्क अत्याधिक भएकाले खुलेर लालपुर्जा चाहियो भनेर आउने नगरेको बताए । ‘नापजाँच छिट्टो गरिदिन भनेर भन्न त धेरै आउने गर्नु हुन्छ । तर शुल्क धेरै भएकाले खुलेर हामीलाई लालपुर्जा चाहियो भनेर आउने त कमै हुनु हुन्छ ।’–उनले भने । साथै सरकारले निर्धारण गरेको राजश्व बजार मूल्य बराबर भएकाले ८० प्रतिशत मिनाह गर्नु पर्ने उपमहानगरपालिका प्रमुख पाण्डेयले बताए ।

यस्तै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पनि लालपुर्जा लिदा लाग्ने शुल्क धेरै हुनुका साथै सरकारले १० वर्षसम्म बेचविखन गर्न र नामसारी गर्न नपाउने व्यवस्था गरेकाले यसलाई सच्चाउनु पर्ने बताए ।

देवदह नगरपालिका प्रमुख धुव्रप्रसाद खरेलले राजश्व बढी भएका कारण बनेका लालपुर्जा पनि लिन नआएको बताए । ३÷४ सय लालपुर्जा तयार भइसके पनि शुल्क धेरै भएको भन्दै कसैले पनि लालपुर्जा नलगेको उनी बताउँछन् ।

सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र शर्माले भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको समस्या राष्ट्रकै समस्या रहेकाले सबै मिलेर अहिले देखिएको राजश्व लगायतका समस्याहरु समाधान गर्नु पर्ने बताए ।

भूमि आयोगका रुपन्देही अध्यक्ष हरीबहादुर आचार्यले आफुले अध्यक्षको जिम्मेबारी पाएदेखि नै काम सुरु गरेको र धेरै जसो जग्गाको नापजाँचको काम सकिएको बताए । उनले राजश्व बढी भयो भनेर लालपुर्जा नलगेको र सरकारले राजश्व घटाएमा रुपन्देहीमा १० हजार लालपुर्जा तत्काल वितरण गर्न सकिने बताए । जिल्लामा अहिलेसम्म ६८ जनालाई मात्रै लालपुर्जा लगेको बताए । अध्यक्ष आचार्यका अनुसार रुपन्देहीमा भूमिहन, दलित र अव्यवस्थित बसोबासीहरुको संख्या ७६ हजवार ७२० जनाको लगत संकलन गरिएको बताए । जिल्लाका १६ पालिकामा सबै भन्दा धेरै बुटवल उपमहानगर पालिकामा रहेका छन् ।

सोअवसरमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईले भुमिहन र अब्यवस्तिको समस्या महत्वपुर्ण सवाल भएकोले तिनै तहकोलसरकार मिलेर कामगर्नु पर्ने बताए ।

नापि अधिकृत कपिल ज्ञवालीले १० वर्षसम्म भोग गरेको जग्गा राज्यले निर्धारण गरेको शुल्क तिरेर लालपुर्जा लिन सकिने बताए । २०५६ सालको आयोगले दोब्बर दस्तुर र २०७३ सालको आयोगले मूल्य बराबरको राजश्व निर्धारण गरेको बताउँदै यो आयोगले बजार मूल्यको ३० देखि ५० प्रतिशतसम्म राजश्व निर्धारण गरेको बताए । राजश्व धेरै भयो भनेर गुनासो आएपछि आफूहरु केन्द्रलाई जानकारी गराएको बताए ।

स्थानीय गिता पाण्डेले निर्वाचनको बेलामा सबैले लालपुर्जा दिन्छौँ भन्ने मुख्य चुनावी एजेण्डा गराउने गरे पनि जिते पछि समस्या समाधानका लागि वास्ता नगरेको बताइन् । दलहरुले भूमिहीन सुकुम्बासीहरुलाई भोट बैंंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको उनको गुनासो छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई,प्रदेश भूमि ब्यवस्था मन्त्रालयका अनिल मरासिनी,सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सो अवसरमा लुम्बिनी सास्कृतिक नगर पालिकाका प्रमुख सजरुद्विन मुसलमान, सिदार्थ नगर नगरपालिकाका उपमेयर उमा अधिकारी, कञ्जन गाउपालपकाका अध्यक्ष नवराज ढकाल, सियारीका अध्यक्ष थानेश्वर घिमिरे, शुद्वोधनका अध्यक्ष विष्णु वस्याल, गैडहवाका अध्यक्ष सुरेन्द्र पौडेल, रोहिणिका अध्यक्ष विध्या यादव, ओमसतियाका अध्यक्ष मञ्जीत कुमार यादव, मायादेवीका अध्यक्ष धुर्वनारायण चौधरी, सम्मरीमाईका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मस्चवारीमाईका अध्यक्ष गयाप्रसाद वरई लगायतले पुर्जा वितरण आफुहरुको पहिलो प्रथमिकतामा रहेको बताए ।

कार्यक्रममा रुपन्देहीका १६ वटै पालिकाका प्रमुख उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको संवाद समूहका सहजकर्ता बिक्रम खड्काले जानकारी दिए ।