चितवन,२७ जेठ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । साे सडक खण्डमा पर्ने चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको हो ।

बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेको समयमा इच्छाकामना गाउँपालिका–६ तोपेखोला नजिकै सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरोका कारण हिजो पनि सवारी साधन बीचबाटोमै रोकिएका थिए । सडकमा खसेका पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पुर्याइरहेको बेला फेरि खसेको पहिरोका कारण यात्रुहरुले सास्ती पाएका छन् ।

पहिरो पन्छाउने काम जारी छ । तर सडकमा सवारी साधनको लामो लाइन भएकाले सहज हुन समय लाग्ने राठौरले बताए ।

सडकमा सवारी साधनको लामो लाइन लागेको छ । जाम भएका सवारी साधनको लाइन चितवनको रामनगरसम्म छ ।

उता तनहुँकाे आँबुखैरेनी नजिकै सडक भासिएपछि पोखरा लगायतका ठाउँमा जाने सवारी साधनलाई पनि भरतपुरकै इलाकामा रोक्ने काम गरिएको प्रहरीले जनाएको छ ।