काठमाण्डाै,२२ जेठ । आज विश्व वातावरण दिवस, विविध कार्यक्रम गरी मनाइँदै छ ।
हरेक वर्षको जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘केवल एउटा पृथ्वी’ रहेको छ । वातावरणप्रति विश्वमा सचेतना जगाउने उद्देश्यअनुसार संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन थालिएको हो ।
विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै ५० वर्ष अघिदेखि मनाउन थालिएको दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको बताएकी छन् ।
प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको सन्देशमा उल्लेख छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गइ जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपदबाट जनधनको क्षतिजस्ता असर बढेको जनाएका छन् ।






