काठमाण्डाै,१० जेठ । सरकारले दुई वर्षभित्र भूमिहीन तथा सुकुम्वासीकाे समस्या समाधान गर्ने भएको छ ।

आज मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन । उनले पुनर्स्थापना हुन बाँकी मुक्त कमैयाहरूका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिन । उनले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताइन् ।

कृषिमा सूचना प्रणाली अपनाइने, किसानकाे संरक्षण गर्ने नीति लिइने

सरकारले आउँदाे आर्थिक वर्षकाे बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गर्ने भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसदमा पेस गरेको नीति तथा कार्यक्रममा आउँदाे बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएकी हुन् ।

कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । आउँदाे वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिन विशेष व्यवस्था गरिने पनि जनाइएको छ ।

राष्ट्रपति भण्डारीले नेपालमा सबैभन्दा धेरै आयात हुने धान, मकै, आलु, प्याज, ओखर जस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने पनि बताइन । उनले कृषिमा सूचना प्रणाली अपनाइने र किसानकाे संरक्षण गर्ने नीति लिइने बताइन् ।