काठमाडौँ,८ जेठ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत ७१५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।
७५३ पालिकामध्ये अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी रहेको छ । पछिल्लो मत परिणम अनुसार नेपाली कांग्रेसले ३१४ पालिकाको प्रमुख जितेर पहिलो दल बनेको हो । कांग्रेसले विगतभन्दा ४८ पालिकाको प्रमुख पद जितेको हो ।

त्यस्तै, नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, जनता समाजवादी पार्टी (जसपा) ले २९,नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेका छन् । ०७४ को निर्वाचनमा २९४ स्थानीय तह जितेको एमालेले यसपटक १०१ सीट गुमाएको छ भने माओवादी केन्द्रले विगतभन्दा १४ स्थान बढी जितेको छ ।

जनता समाजवादी पार्टीले २९ स्थानीय तह जितेको छ भने नेकपा एकीकृत समाजवादीले १७ स्थानीय तहको प्रमुख जितेको छ ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेको छ भने राप्रपाले ४ स्थानीय तहको प्रमुख जितेको छ ।
निर्वाचन आयोगका अनुसार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका टिकापुर नगरपालिकासहित चार स्थानीय तहमा जितेको छ भने १० वटाभन्दा धेरै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

स्थानीय चुनावको परिणामअनुसार सातै प्रदेशमा कांग्रेस पहिलो पार्टी बनेको छ । एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र जसपा चौथो पार्टी बनेको छ ।

मतपरिणाम आउन बाँकी रहेका स्थानीय तहमध्ये काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । पोखरामा एकीकृत समाजवादी, भरतपुरमा माओवादी केन्द्र, ललितपुरमा कांग्रेस र वीरगञ्जमा जनता समाजवादी पार्टी फराकिलो मतान्तरसहित अगाडि छन् । ११ उपमहानगरपालिकामध्ये धनगढी, हेटौंडा, बुटवल, नेपालगञ्ज, इटहरी, घोराही, कलैया र जितपुर सिमराको परिणाम आइसकेको छ भने तुलसीपुरमा एमाले, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी र धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता लिएका छन् ।

नतिजा आइसकेकामध्ये धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल, हेटौंडामा एकीकृत समाजवादी, बुटवल, नेपालगञ्ज र इटहरीमा कांग्रेसले जितेको छ भने घोराही र कलैयामा एमाले तथा जितपुर सिमरामा माओवादी केन्द्र निर्वाचित भएको छ ।