काठमाण्डाै,७ जेठ ।
देशका विभिन्न ठाउँमा आज पनि हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पश्चिमी क्षेत्रमा र राति मध्य क्षेत्र तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङ्गसहित हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।
दिउँसो लुम्बिनी प्रदेश, गण्डकी, वाग्मती,मधेस र प्रदेश-१ का केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अहिले नेपालमा स्थानीय वायु, भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव रहेको उनले बताइन् । यसको प्रभाव कायमै रहेकाले हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ। अहिले पनि प्रदेश-एक, मधेस प्रदेशका केही ठाउँहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रि-मनसुनमा छिनछिनमै मौसम परिवर्तन हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । हिजो बेलुकाको हावाहुरीका कारण चितवनमा तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।








